उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्वारको गाउँ सुन्दर बस्ती हो । खयरभारानी र खोप्रा डाँडाको काखमा अवस्थित यो पाउद्वारको गाउँ पर्यटकीय दृष्टिले पनि अत्यन्तै सुन्दर गाउँ मानिन्छ । यो बस्ती समुन्द्री सतहदेखि दुईहजार मिटर उचाईमा रहेको छ। गाउँको पूर्वमा अन्नपूर्ण हिमाल र पश्चिममा कालीगण्डकी नदी छ । त्यस्तै उत्तरमा नारच्याङ्ग गाउँ छ भने दक्षिणमा शिख गाउँ पर्दछ । जिल्ला सदरमुकाम बेनीदेखि उत्तर–पूर्व दिशामा रहेको यस गाउँ २८ किमिको दुरीमा रहेको छ । यसको भौगोलिक विविधता विचित्रको छ । पाउद्वार क्षेत्र भुरुङ, तातोपानी, नारच्याङको सीमानामा रहेको पाउद्वार तातोपानी (१९१० मिटर) भएर बग्ने कालीगण्डकीदेखि अन्नपूर्ण दक्षिण (७२१९ मिटर) सम्म फैलिएको छ । त्यसैले त जनबोलीमा माछी चरनदेखि डाँफे चरनसम्मको ठाउँ भन्ने गरिन्छ ।कुनै समय पाउद्वार गाउँ पर्वत जिल्लामा पर्दथ्यो । विसं. २०२८ सालमा यसलाई मुस्ताङ जिल्लामा गाभियो भने २०३१ सालमा म्याग्दी जिल्लामा गाभेर नारच्याङ गाउँसँग मिलाएर वराह गाउँ पञ्चायत बनाइएको थियो । विसं. २०३५ सालमा पाउद्वार, शिख, घार र खिबाङ्ग मिलाएर शिख गाउँ पञ्चायत बनाइयो । त्यस्तै २०३१ सालमा पाउद्वार र शिखलाई मिलाएर शिख गाविस बनाइयो भने घार र खिबाङ्ग मिलाएर घार गाविस बनाइएको थियो । हाल देश संघीय ढाँचामा गएपछि साविकको शिख गाविसलाई अन्नपूर्ण गाउँपालिकाको वडा नं. ५ बनाइएको छ । प्राकृतिक र भौगोलिक सुन्दरताले भरिपूर्ण पाउद्वारको गाउँ प्राकृतिक एवम् धार्मिक पर्यटकीय दृष्टिकोणले पनि सम्पन्न छ । सुन्दर गाउँ, मिलनसार एवम् सज्जन मान्छेहरू बसोबास भएको गाउँ साँच्चिकै रमणीय देखिन्छ । गाउँदेखि केही समय उकालो चढेपछि चिया खाजा खाने रेष्टुरेण्ट भेटिन्छ भने त्यहाँदेखि उकालो लागेपछि लरेनी भन्ने ठाउँमा आइपुगिन्छ । त्यहाँ एउटा सुन्दर सामुदायिक लज छ । यहाँ खान बस्नका लागि अत्यन्तै राम्रो व्यवस्था भएको यस सामुदायिक लज सफासुग्घर र सुन्दर हुनुका साथै मनमोहक छ । यो लजदेखि उकालो चढेपछि घना जङ्गलको बाटो हुँदै दोबाटो भन्ने धुरी आउँछ । यहाँदेखि खोप्राको इलाका पर्ने भएकोले सुन्दर धुरीको बाटो हुँदै खोप्रा पुगिन्छ । बाटाहरूमा अत्यन्तै सुन्दर फूलहरू फुलेको हुनाले त्यस धुरीहरूलाई नवदुलहीलाई झैं सिङ्गारेको थियो । मिठामिठा फूलका बासनाले सारा जङ्गल सुगन्धमा रमेको थियो । त्यहाँ धेरै टाढासम्म रहेको थियो । त्यहाँबाट धेरै टाढासम्म देखिने हिमाल तथा पहाडहरूको सुन्दर दृश्यले मन लोभ्याउने गर्दथ्यो। प्रकृतिका यी अनुपम सुन्दरताहरूलाई हेरेर म कहिल्यै अघाइनँ । यसपछि खोप्रा सिद्धको थानमा पुगिन्छ । मौसम सफा भएको बेला सिद्धथानमा पुग्न करिब २५ मिटर अगाडिबाट खयरभारानी क्षेत्र देख्न सकिन्छ । खोप्रा सिद्धले ढाकोरो फालिदिन्छन् भन्ने पाउद्वारी जनविश्वास रहेको छ । सिद्धथानमा ध्वजा, अक्षता, धुपबत्ती र भएमा जौको सातु चढाउने चलन छ । यसपछि समुन्द्री सतहदेखि करिब ३६ सय ७० मिटर उचाईमा रहेको खोप्रा आइपुगिन्छ । यहाँ वि.सं. २०५० सम्म खोप्रामा धेरै गाईभैंसीका गोठ हुन्थे । तीर्थयात्रीहरूका लागि दुःखसुख ओत बस्ने ठाउँ तिनै गोठमा हुन्थे । तीर्थालुहरूले घरबाट ल्याएका खानेकुराहरू गोठालालाई दिन्थे र गोठालाले पाहुनालाई आफूँग जेजस्तो खाना छ, दुध, दहीसँग पाहुनालाई खुवाउँथे । भैंसी गोठमा सुत्ने ठाउँ हुँदैनथ्यो, यसैले खचाखच गरेर बस्नुपर्दथ्यो । यसरी तीर्थयात्रीहरू दुःखसुखले खोप्रामा रात बिताउँथे ।

जातुराहरू राती सेदो गीत गाएर बस्दथे । बिहान उज्यालो भएपछि खोप्रा पँधेरामा गएर नुहाउने, मुख धुने र भूमेभूमेनीलाई ध्वजा, अक्षता, धुपबत्ती र भेटी कोसेली चढाउने गर्दथे । यद्यपि त्यो चलन अहिलेसम्म कायमै छ । बिहान खयरखोलातिर जानु अघि विभिन्न ठाउँहरूबाट आएकाहरू छेलो फाल्ने खेल खेल्थे, खेलमा प्रथम हुनेलाई त्यसवर्षभरि साँह्रे भनेर सम्मान गरिन्थ्यो । छेलो फाल्ने परम्परा संरक्षण गर्ने प्रयास भएको छ ।हाल यस खोप्रामा एउटा व्यवस्थित सामुदायिक लज रहेको छ । डा. महावीर पुनको प्रमुख नेतृत्वमा खोलेका पदमार्ग बेनीदेखि बाँसखर्क, बाँसखर्कदेखि नागी, नागीदेखि महरेडाँडा, महरेडाँडादेखि फूलबारी, फूलबारीदेखि हिस्तान टिकोट, हिस्तान टिकोटदेखि स्वाँत, स्वाँतदेखि हालखर्क, हालखर्क देखि धाँडखर्क, धाँडखर्कदेखि खोप्रा, खोप्रादेखि पाउद्वार र पाउद्वारदेखि भुरुङ्गतातोपानी जोड्ने गरी पर्यटकीय पदमार्ग खुलेको छ । यसका साथै ठाउँठाउँमा सामुदायिक लजहरू छन् र ती लजहरूबाट आउने आम्दानी सम्बन्धित गाउँको विद्यालयलाई सहयोग गर्ने उद्देश्यले यी लजहरू खुलेका थिए । यस पदमार्गमा वर्षेनी हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो लाग्ने गर्दथ्यो । यसपटक भने कोरोना महामारीका कारण करिब सुनसान जस्तो भएको छ । धार्मिक दृष्टिले पनि प्रख्यात हुँदै गएकोले यस खोप्रादेखि करिब १० मिनेट उकालो हिंडेपछि सुत्केरी गाडेको ढुङ्गा भेटिन्छ, जहाँ ध्वजा, अक्षता, धुपबत्ती बाल्ने र पाँच दिनको सुत्केरी आमा भनेर इच्छाअनुसार भेटी, कोसेली र फूल चढाउने चलन छ । सुत्केरी गाडेको ढुङ्गाबाट चिन्डेखर्क हुँदै करिब २० मिनेट हिंडेपछि ढुङ्गा गाडेको मण्डली भेटिन्छ । त्यसपछि लाकुसेको जोरमण्डली पुगिन्छ । जोरमण्डली पछि सुनौलो सिद्ध, सिद्धपति कामधेनु गाईको फाल भेटिन्छ ।

यो ठाउँपछि ढुङ्गा उचाल्ने देउराली, देउरालीपछि नौलोवन, नौलोवनपछि चारवनका भूमे, यसपछि खयरखोला, धोतीखोला, वरणदेवता, पापीधर्मी छुट्याउने उकालो र ढोकादारी सिद्धथानमा पुगिन्छ ।

यस ठाउँमा ढोकादारी सिद्धथानका चारढोका छन्, त्यसैले धेरै पर्खिनुपर्दैन । परिक्रमा लगाएपछि कुनै एक ढोकामा पुगी आफू आएको खबर कालतपस्वी सिद्धबाबालाई दिनुपर्छ। खयरभारानीको भाकल फुकाउन पाल्नुभएको हो भने सिद्धबाबालाई बाख्राको पाठोले पूजा गर्नुपर्छ । यसपछि लगभग ७ मिनेट हल्का उकालो चढेपछि खयरभारानीको थानमा पुगिन्छ ।

यहाँ दुईथरिका भक्तजनहरू आएका हुन्छन् । एकाथरि बाख्राको पाठो, बोका लिएर गएका हुन्छन् भने अर्काथरिले नरिवल, धुपबत्ती, अक्षता, ध्वजा, फलफूल लिएर गएका हुन्छन् । त्यहाँ उनीहरूको पूजाकालागि छुट्टाछुट्टै ठाउँ बनाइएको छ ।

ती ठाउँहरूमा गएर पूजाआजा गर्दछन् । यसरी पूजा गर्दा खयरभारानीले आफ्नो मनोकामना पूरा गरिदिने जनविश्वास एवम् धार्मिक आस्था रहिआएको छ र भारानीका नौ दिदीबहिनी छन्, तीमध्ये आठवटी म्याग्दीमा छन्, एउटी कास्कीको फेवातालमा ।

जेठी खयरभारानी माहिली तालवाराही, साहिँली पेरीभारानी, काहिँली मणिभारानी, ठाहिँली गोर्सेभारानी, राहिँली कालीभारानी, ठूलीकान्छी श्रीभारानी, अन्तरीकान्छी किमोबोटकी भारानी र सानीकान्छी नाकाजीभारानी हुन् भन्ने एउटा रोचक किंवदन्ती रहेको छ ।

उक्त क्षेत्रको पुनर्निर्माण तथा सुधार गर्ने हेतुले समाजसेवी एवम् खयरभारानीका परम भक्त लेफ्टिनेण्ट राजु पुन वि.सं. २०६८ सालदेखि खयरभारानी क्षेत्रमा पदमार्ग सुधार, धर्मशाला निर्माण, थान निर्माण लगायतका कामको प्रमुख नेतृत्व गर्दैै आएका छन् ।

शुभेच्छुकहरूबाट उठेको सहयोग एक करोड पचास लाख बराबरको काम खयरभारानी थान तथा संरक्षण कोष मार्फत् धमाधम भइरहेको छ ।

यस उच्च पहाडी क्षेत्रमा चौंरीगाई तथा भेडाहरूको लागि प्रशस्त चरण भएकाले यहाँ चौंरीका गोठ, भेडाका गोठहरू प्रशस्त छन् ।

विशेष गरी लरेनीखर्कदेखि खयरभारानीथानसम्म पुग्ने बाटोको वरपरप्रशस्त मात्रामा हिमाली जडिबुटीहरू पाइन्छ ।

जस्तैः निरमसी, पाँचऔंले, कुटकी, गेजा, जटामसी, यार्सागुम्बा, चुल्ठीअमिलो, अतिस, पाखनभेद, निर्विसी, वन लसुन, चिराइतो, स्चउमल, ढकालो, वन तुलसी, सतुवा आदि इत्यादि जडिबुटी औषधीहरू पाइने भएकोले यस क्षेत्रलाई जडिबुटीहरूको खानी भनिरहँदा अतिसयोक्ति हुनेछैन । अर्कोतिर यहाँबाट धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«े, मानापाथी जस्ता अनगिन्ती सुन्दर हिमाल तथा पहाडहरू मनग्गे दृश्यावलोकन गरी भरपूर आनन्द लुट्न सकिने मनमोहक ठाउँहरू छन् ।

भौगोलिक विविधता, जैविक विविधता, सुन्दर प्राकृतिक पर्यावरण, हरियाली जङ्गलसँगै विभिन्न रंगका फूलहरूले सिंगारिएको यस क्षेत्र वास्तवमै स्वर्ग छ ।

मलाई यस्तो लाग्छ कि ईश्वरले आफ्नो सृष्टि रचनामा अतिरिक्त कला थपेर यो क्षेत्रलाई अझ मनोरम बनाइदिएको छ ।

यदि नेपाल सरकारले नजर यहाँसम्म पुग्ने सकेको खण्डमा यस क्षेत्रमा प्रशस्त जडीबुटी खेती, चौंरी तथा भेडापालन गर्न सकिने र धार्मिक तथा प्राकृतिक पर्यटन क्षेत्र विकास गरी लाखौैं स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सकिने प्रचुर सम्भावना देखिन्छ ।