म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकको रोजाईमा रहेका झरना र तातोपानी कुण्डको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ ।

प्रयाप्त पूर्वाधारको अभावमाले ओझलेमा परेको रुप्से झरना, नारच्याङ र महभीर झरनाका साथै कुण्डतर्फ भुरुङ तातोपानी, पाउद्धार, दोवाको सेकार कुण्ड र रातोपानी कुण्डको डिपिआरको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनले बताउनुभयो ।

‘मुख्य झरना र कुण्डमा पूर्वाधारको आवश्यकता छ,‘डिपिआर तयार भएपछि स्रोतको खोजीमा लाग्छौ’ अध्यक्ष पुनले भन्नुभयो । डिपिआर तयार गर्न लागिएका तीन झरना र तीन कुण्ड बेनी–जोमसोम सडकखण्ड आसपासमा पर्छन् ।

पर्यटकको चाप बढ्दै गइरहेको अवस्थामा आवश्यक पूर्वाधारको अभावमा नारच्याङ र महभिर झरना समेत ओझेलमा परेको थियो भने बाढीपहिरोले अस्तब्यस्त भएको रुप्से झरनाको करिब ९० प्रतिशत संरचनामा क्षती पुगेको प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताउनुभयो ।

विश्वकै उत्कृष्ट झरना र कुण्ड समेत बाढीपहिलो र नदीको कटानले छियाछिया भएको अवस्थामा पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्थालाई समेत सहयोग गर्न तयार रहेको प्रमुख प्रशासकीय अधिकृत सुबेदीको भनाई छ ।

उहाँका अनुसार पाउद्धारको कुण्डमा २० लाख, रातोपानी कुण्डको संरक्षणमा यस अगाडी नै २५ लाख विनियोजन भइसकेको छ भने नारच्याङ झरनाको प्रस्ताव पर्यटन मन्त्रालयमा पेश गरिएको छ ।

पुरानो स्वरुपलाई यथावत राखेर रुप्से र नारच्याङ झरनाका साथै कालिगण्डकीको कटानबाट तातोपानी र रातोपानीलाई जोगाउन सकेमा मुस्ताङ जाने पर्यटकलाई रोक्न सकिने पर्यटन ब्यवसायीको भनाई छ ।

यसैबीच गाउँपालिकाले नदीजन्य बस्तुको उत्खनन्का लागि वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) प्रतिवेदनको तयारीमा रहेको छ । डिपिआर र ईआइएमा १० लाख विनियोजन गरेको छ । तस्वीर सौजन्य सुरेन गुरुङ

Leave a Reply