बेनी अस्पतालका डा.गौरव भट्टको करिब २ लाख पर्ने आइफोन अस्पतालभित्रबाटै हराएको १२ दिनमा प्रहरीको सक्रियतामा भेटियो ।

अस्पताल परिसरभित्रबाटै हराएको मोवाइल बारेमा आवश्यक विवरण सहित प्रहरीमा निवेदन दिएको दुईसातामै प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले कार्यालयमै बोलाएर डा. भट्टलाई मोबाइल हस्तान्तरण गर्नुभयो ।

बेनीकै क्याम्पसचोकका गंगा पुनको दुईवटा मोवाईल हराएको पाँच महिनापछि प्रहरीलाई सफलता मिल्यो । घर, कार्यालय र यात्राको क्रममा हराएको मोबाइलको निवेदन दिएसँगै प्रहरीले विभिन्न माध्यमबाट खोजी गर्ने गरेको प्रहरी निरिक्षक शर्माले बताउनुभयो ।

‘हराएका निवेदन लगत्तै खोजीकार्यमा आवश्यक सक्रियता देखाउने गरेका छौ,‘धेरै बेचेको अवस्थामा भेटिएको छ’ शर्माले भन्नुभयो ।

मोबाईल चोरी वा बाटोमा भेट्टाएर प्रयोग गर्ने, सस्तोमा खरिद गरी प्रयोग गर्नेहरुलाई नै कानुनी कारवाही हुने भएकाले भट्टाएको वा बिक्री गर्न खोजेमा प्रहरीलाई उपलब्ध गराउन प्रहरी निरिक्षक शर्माले अनुरोध गर्नुभयो।

पछिल्लो दुई महिनामा ३९ विभिन्न कम्पनीमा मोबाइल हराएको निवेदन प्रहरीमा दर्ता भएको छ । ३९ वटा मध्येको ८ वटा भेटिएको र अन्यको खोजीकार्य भइरहेको छ । एकबर्षमा करिब १ सय मोबाईल हराएको निवेदन दर्ता हुने भएपनि फेला परेको मोबाइल समेत ल्याउन नआउने गरेको प्रहरीले जनाएको छ ।

अर्काको मोबाइल चोरी गरी प्रयोगमा संलग्नलाई ३० हजार देखि ५० हजारसम्म जरिवाना र कैद सजाय समेत हुने प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘हराएको मोबाइल प्रहरीमार्फत सम्बन्धित ब्यक्तिलाई दिनुहोला,‘इमान्दारितासँगै भविस्यमा हुने कारवाहीबाट पनि जोगिन सकिन्छ’ प्रनाउ कुँवरले भन्नुभयो । प्रयोगकर्ताले मोबाइल भित्रको आवश्यक सुरक्षा नम्बरलाई सुरक्षित राख्नुपर्छ ।

इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर ‘इएमआइइ’ दिएर उजुरी दिएपछि मोबाइल खोज्न प्रहरीलाई सजिलो हुन्छ । ‘इएमआइइ नम्बर दिएपछि सिम फालेर मोबाइल चलाएपनि कहाँ चलिरहेको छ थाहा हुने भएकाले पनि प्रयोगकर्ताले अनिवार्य रुपमा इएमआइइ नम्बर सहित निवेदन दिएमा प्रहरीले देशभरीबाटै मोवाइल फेला पारेर ल्याउन सक्छ ।

Leave a Reply