हिमाली जिल्ला म्याग्दीमा मङ्गलबारदेखि विविध कार्यक्रमको आयोजनासहित ४१औं सामाजिक सेवा दिवस  मनाउन सुरु भएको छ । ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमसिलता’ भन्ने मूल नारासहित दिवस मनाउन लागिएको हो ।

दिवसको पहिलो दिन मङ्गलबार गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको आयोजना र संयोजन तथा सगुन स्टेशनरीको सहयोगमा म्याग्दी बालगृहका १३ जना बालबालिकाहरुलाई स्टेशनरी वितरण गरी दिवस मनाउन थालिएको महासंघ म्याग्दी शाखाले जनाएको छ ।

उनीहरुलाई महासंघका जिल्ला अध्यक्ष दिपक पौडेल, निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेल र ज्येष्ठनागरिक नैनकुमार श्रेष्ठले कपी, कलम, पेन्सिल, ज्यामिती बक्स वितरण गरेका थिए ।

यसैगरी बालबालिकालाई लक्षित गरेर एक थान भलिबल पनि सहयोग गरिएको छ । कार्यक्रममा नेपाल बाल सङ्गठन म्याग्दीका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जिल्लास्थित विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुको सहयोगले बालगृह सञ्चालनमा सहयोग पुगेको बताए ।

गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै स्वागत गरेका थिए ।

महासंघका अध्यक्ष दीपक पौडेलको अध्यक्षता र सचिव निरमाया मिजारको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष ज्योती लामिछानेसहित पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो । आउँदो यही असोज १२ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेर सामाजिक सेवा दिवस मनाइने महासंघका अध्यक्ष पौडेलले बताए ।

Leave a Reply