निरन्तरको वर्षाका कारण बेनी नगरपालिका-६, मा बाढीपहिरोले २४ घर विस्थापित भएका छन् । अत्याधिक बर्षासँगै भिरालो जमिन, विस्तार गरिएको सडकले जमिन भासिँन थालेपछि वडाभित्रका विभिन्न बस्तीका २६ घरपरिवारले छिमेकी, आफन्त र सामुदायिक भवनमा रात विताउने गरेका छन् । बेनी–दरबाङ सडकखण्ड विस्तारको क्रममा डम्बरा बजार माथि जमिन भासिएपछि पक्की घरको पिल्लर समेत चर्किएको छ भने बस्तीका अधिकांस घर जोखिममा रहेको वडा अध्यक्ष कृष्णसिंङ बानियाँले बताउनुभयो ।‘वडाभित्रका हरेक बस्ती बाढीपहिरोको चपेटामा परेको छ,‘समान्य राहत बाहेक केही वितरण गर्न सकिएको छैन’ अध्यक्ष बानियाँले भन्नुभयो ।उहाँका अनुसार डम्बराका ६ घरधुरी, चुत्रेनी १, माझखेत ४, छापा ३ जामुनाखर्क फोओटे ३, जामुनाखर्क ५, खरेनी २ घरपरिवारलाई स्थानीय सामुदायिक भवन, आफन्त र छिमेकीकोमा स्थानान्तरण गरिएको छ। वडाभित्रका बस्तीसँगै सडक समेत छियाछिया भएको छ । वडाभित्रका २६ घरधुरी उच्च जोखिममा रहेको वडा अध्यक्ष बानियाँको भनाइ छ । जोखिमपूर्ण क्षेत्रको साम्सद भुुुुुपेन्द्र थापा र विनोद केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेकपा, नेपाली कांग्रेस लगायतको टोलीले अनुगमन समेत गरेको छ । वडाभित्र बाढीपहिरोबाट क्षती पुगेका पूर्ण क्षती २६, मध्यम १४ र समान्य ३० घरपरिवारलाई राहतका लागि समेत नगरपालिका र विभिन्न निकायमा अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ । बस्तीसँगै स्थानीय सामुदायिक विद्यालय, पूरानो कुवा लगायतका सार्वजनिक संरचनामा समेत क्षती पुगेको छ ।