निरन्तरको वर्षाका कारण बेनी नगरपालिका-६, मा बाढीपहिरोले २४ घर विस्थापित भएका छन् । अत्याधिक बर्षासँगै भिरालो जमिन, विस्तार गरिएको सडकले जमिन भासिँन थालेपछि वडाभित्रका विभिन्न बस्तीका २६ घरपरिवारले छिमेकी, आफन्त र सामुदायिक भवनमा रात विताउने गरेका छन् । बेनी–दरबाङ सडकखण्ड विस्तारको क्रममा डम्बरा बजार माथि जमिन भासिएपछि पक्की घरको पिल्लर समेत चर्किएको छ भने बस्तीका अधिकांस घर जोखिममा रहेको वडा अध्यक्ष कृष्णसिंङ बानियाँले बताउनुभयो ।
‘वडाभित्रका हरेक बस्ती बाढीपहिरोको चपेटामा परेको छ,‘समान्य राहत बाहेक केही वितरण गर्न सकिएको छैन’ अध्यक्ष बानियाँले भन्नुभयो ।
उहाँका अनुसार डम्बराका ६ घरधुरी, चुत्रेनी १, माझखेत ४, छापा ३ जामुनाखर्क फोओटे ३, जामुनाखर्क ५, खरेनी २ घरपरिवारलाई स्थानीय सामुदायिक भवन, आफन्त र छिमेकीकोमा स्थानान्तरण गरिएको छ।
वडाभित्रका बस्तीसँगै सडक समेत छियाछिया भएको छ । वडाभित्रका २६ घरधुरी उच्च जोखिममा रहेको वडा अध्यक्ष बानियाँको भनाइ छ । जोखिमपूर्ण क्षेत्रको साम्सद भुुुुुपेन्द्र थापा र विनोद केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेकपा, नेपाली कांग्रेस लगायतको टोलीले अनुगमन समेत गरेको छ ।
वडाभित्र बाढीपहिरोबाट क्षती पुगेका पूर्ण क्षती २६, मध्यम १४ र समान्य ३० घरपरिवारलाई राहतका लागि समेत नगरपालिका र विभिन्न निकायमा अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ । बस्तीसँगै स्थानीय सामुदायिक विद्यालय, पूरानो कुवा लगायतका सार्वजनिक संरचनामा समेत क्षती पुगेको छ ।