अधिक बर्षाले जमिन भाँसिएपछि बेनी नगरपालिका-३,हल्लेगौंडाका ६ घरधुरी उच्च जोखिममा परेका छन् । दूधेखोला-भकिम्ली सडकखण्डसँगै बस्ती आसपासको जमिन भासिएपछि हल्लेगौंडाका स्थानीय बासिन्दा त्रसित बनेका छन् ।पहिरोले नरबहादुर रोका मगर, तिलबहादुर घर्ती मगर,सोतन्द रोका मगर, झलक रोका मगर लगायतको घर उच्च जोखिममा छ । दुधेखेला आसपासकै क्षेत्रबाट सुरु भएको पहिरोले दूधेखोला–भकिम्ली सडकखण्डको ढलान गरेको क्षेत्र भत्किएसँगै बस्तीतर्फको जमिन समेत चिरा परेको स्थानीय यूवा याम घर्तीमगरले बताउनुभयो ।

‘तत्काल संरक्षणको पहल नभए कुनैपनि बेला थप क्षती हुनसक्छ,‘उच्च जोखिममा भएकालाई सुरक्षित ठाउँमा लैजाने तयारी भइहरेको छ’ घर्तीले भन्नुभयो । वर्षा हुने क्रम नरोकिएकाले गाउँका ३१ घरधुरी झन त्रसित छन्। यसैबीच पहिरोले खोलामा असर गरेपछि कोप्रेका बासिन्दा समेत त्रसित छन्। बेला–बेलामा पहिरोले खोला थुनिने समस्याबाट स्थानीय त्रसित छन् । यता वडा अध्यक्ष पदम पुनले बाढीपहिरोले सडक तथा बस्ती नै जोखिममा परेकाले बैकल्पिक मार्गको प्रयोगलाई सहज बनाउन बेनी नगरपालिकालाई अनुरोध गरिएको बताउनुभयो ।

१३ किलोमिटरको भकिम्ली सडकखण्डको मर्मतमा लाखौं खर्च हुने र पहिरोले क्षती पुगेको ठाउँमा नयाँ ट्याक खोल्नुपर्ने वडा अध्यक्ष पुनको भनाई छ ।

Leave a Reply