बेनी नगरपालिका-७,मङ्गलाघाटबासीले चालु आवमा वडाको बजेटलाई टुक्रे योजनामा खर्च नगर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन्।

वस्तीभन्दा माथिबाट खसेको बाक्लो लेदोसहितको ढुङ्गामाटोले मङ्गलाघाट क्षेत्रका दर्जनौ घर जोखिममा परेपछि बाढीपहिरो रोकथाममा खर्च गर्ने गरी तत्काल उपभोक्ता समिति गठन प्रक्रिया स्थगित समेत गरेका छन्।

बाढीपहिरो जोखिम न्यूनिकरणका लागि बेनी नगरपालिका, प्रदेश र संघीय सरकारको समेत ध्यानार्कषण गराउने गरी स्थानीयको भेलाले कृष्ण बानियाँको संयोजकत्वमा सुमन श्रेष्ठ, लक्ष्मण कटुवाल, नवराज शर्मा र भगवती पूर्जा सदस्य रहेको बाढीपहिरो रोकथाम समन्वय समिति गठन भएको छ ।

‘बाढीपहिरोको जोखिममा परेको बस्तीबाट अरु योजना प्राथमिकतामा पदैन्,‘बस्ती जोगाउने गरी नै बजेट विनियोजनको माग गरेका छौ’ संयोजक बानियाँले भन्नुभयो ।

बेनी–अर्थुङ्गे–पाखापानी सडकखण्ड अन्तर्गत आँपारुख सामुदायिक वन क्षेत्र, बराहपाखो र महारानी मन्दिर आसपासको क्षेत्रबाट ढुङ्गा, माटो, गेगरसहित भलबाढीको प्रभावकारी नियन्त्रणको ग्यारेन्टी भएमात्रै उपभोक्ता समिति गठन गर्ने स्थानीयको सहमति भएका बाढीपहिरो रोकथाम समन्वय समितिका सदस्य सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

यता वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मङ्गलाघाटबासीको समस्या समाधानका लागि निरन्तर सक्रिय रहेको बताउनुभएको थियो। भेलामा कार्यपालिका सदस्य टकसरा राना, लगायत वडा सदस्य, सरोकारवालाहरुको उपस्थिती रहेको थियो।बेनपा-७ का स्थानीयले टुक्रे बजेटलाई निरुत्साहित गदैं जोखिम मानिएको क्षेत्रमा बजेट केन्द्रित गर्न समेत माग गरेका छन् ।

Leave a Reply