क्षत्री समाज म्याग्दीले संस्थागत तथा पूर्वाधार विकासका लागि झन्डै २५ लाख आर्थिक संकलन गरेको छ । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित स्थापित संस्थाले स्वदेश तथा विदेशमा रहेका समाजका शुभचिन्तकबाट उक्त सहयोग जुटाएको हो ।

बेनी नगरपालिका-७ संगमचोमा रहेको भवनको ऋण ब्यवस्थापन, बहुउद्देश्यीय भवन लगायत विभिन्न काम गर्न सहयोग जुटाइरहेको अभियानकी संयोजक एवम् क्षत्री महिला समाज म्याग्दीकी अध्यक्ष कमला जिसीले बताउनुभयो ।

‘भवन बनाउँदा लागेको ऋण पनि छ,‘संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग जुट्ने क्रम जारी छ’ जिसीले भन्नुभयो ।

उहाँले समाजमा रहेका विभिन्न जातजाति विचको सहकार्य, एकता सँगै संस्थाको भवनबाटै धार्मिक विधि अन्तरगतका विभिन्न कार्यहरु समेत सुरु गरिएको बताउनुभयो ।

कोरोना भाइरसको जोखिमका कारण विश्वभर ब्यापार ब्यवसाय ठप्प, रोजगार समेत गुमेको अवस्थामा समेत केही दिनमै उक्त सहयोग जुटाउन सफल भएपनि अभियानमा झन्डै १ करोड संकलन गर्ने लक्ष्य रहेको  आर्थिक सहयोग संकलन अभियानका सल्लाहकार नारायण जिसीले जानकारी दिनुभयो ।

म्याग्दीमा जन्मिएर विश्वभर छरिएका क्षत्रीहरुले संस्थागत विकासलाई जोड दिएका छन् ।  म्याग्दीमा विभिन्न जातिजातिको कार्यक्रम, धार्मिक तथा जिल्लास्तरीय महोत्सवमा आफ्नो पहिचान सहित क्षत्री समुदायको बाख्लो उपस्थिती हुने गरेको छ।

Leave a Reply