प्राकृतिक प्रकोपका कारण छियाछिया बनेको म्याग्दी जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाको मागसहित ज्ञापनपत्र बुझाइएको छ । नेपाल मगर संघ म्याग्दीले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाइएको हो ।
मनसुन सुरु भएदेखि यता म्याग्दीको विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले ठूलो मात्रामा धनजनको क्षति पु¥याएको हुँदा जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्रको रुपमा घोषणा गर्ने मागसहित ज्ञापनपत्र बुझाइएको मगर संघ म्याग्दीले जनाएको छ । गएको असार २५ गते पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिम, धवलागिरी–६, मराङलगायत विभिन्न स्थानमा बाढीपहिरोले लाखौं धनजनको क्षति गरेको छ ।
वर्षात्को विभिन्न समयमा आएको बाढीपहिरोका कारणले गर्दा जिल्लाको मराङ, बिम, ताकम, देवीस्थान, अर्मन, दाना र बेनी नगरपालिकाको पात्लेखेत, डम्बरा, भकिम्लीलगायत क्षेत्रमा असर भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यसैगरी बाढीपहिरोमा परेर जिल्लामा हालसम्म ३१ जनाले ज्यान गुमाइसकेका छन्भने केही अझै बेपत्ता छन् । यसै सन्दर्भमा नेपाल सरकारले सिन्धुपाल्चोक र बागलुङलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको भए पनि म्याग्दीलाई उपेक्षा गरेको हुँदा मगर संघले ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
उक्त ज्ञापनपत्र मगर संघ म्याग्दीका अध्यक्ष डकमाया गर्बुजाले म्याग्दीका प्रजिअ उमाकान्त अधिकारीलाई हस्तान्तरण गरेकी थिइन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply