दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेकी बेनी नगरपालिका-७, मुस्लिम बस्तीकी ४० बर्षिया जमिल बेगमको उपचारमा बेनीबजारमा आर्थिक सहयोग संकलन भएको छ ।

नियमित डायलासिस गर्न आर्थिक क्षमता नभएपछि आयूर्वेदिक औषध सेवन गर्ने गरेकी बेगमको उपचारमा सुरु भएको अभियानमा आइतबार मात्रै १ लाख २८ हजार ३२५ रुपैयाँ सङ्कलन भएको हो ।

जमिल बेगम उपचार अभियानमार्फत बेनीमा सुरु गरिएको अभियानको पहिलो दिन उक्त सहयोग जुटेको अभियानका संयोजक अन्जित खानले बताए ।

‘बजारभित्रका शुभचिन्तकबाट अभियान सुरु गरेका छौ,‘सहयोगले उपचारमा सहज हुनेछ’ अभियानका संयोजक खानले भने ।

उनका अनुसार ट्याक्कीमा कस्मेटिक ब्यवसाय गदैं आएकी बेगमले विगत एक बर्षयता दैनिक विहान, दिउँसो र बेलुकी जडिबुटी सेवन गर्ने गरेको जमिल बेगम उपचार सहयोग समितिले जनाएको छ ।

अभियान अन्तरगत संकलन भएको आर्थिक आइतबार नै औषधी लगायत उपचारमा आवश्यक खर्च गर्न पीडितका दाजु रहमद खाँलाई हस्तान्तरण गरिएको छ ।

तीन छोरी र एक छोराको पालनपोषण, शिक्षादिक्षाका लागि ब्यापार गरी जोडेको पैसा उपचारमा सकिएपछि उपचारमा आर्थिक अभाव भएपछि अभियानमार्फत संकलन भएको सहयोगले केही सहज भएको पीडितका दाजु खाँले बताए ।

‘बेनीबजारमा केहीदिन अभियान सञ्चालन हुने भएकाले सक्दो सहयोग गरिदिनुहोला,‘बहिनीको उपचारमा साथ दिने सबैप्रति आभारी छु’ उनले भने।

यसैबीच आर्थिक सहयोग संकलनसँगै बेनी अस्पतालमा हप्तामा दुईपटक डायलासिस गरी मृगौला प्रत्यारोपणका लागि दाता खोज्ने पीडित परिवारको भनाई छ । बेगमलाई म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोग गरेको थियो ।

यसैबीच  बेगम उपचार सहयोग समितिले देशभर रहेका मुस्लिम समुदायलाई समेत सहयोग अभियानमा साथ दिन अनुरोध गरेको छ । सहयोग समितिको अनुरोधमा मुस्लिम सेवा समाज म्याग्दीमार्फत सहयोग अभियानमा साथ दिन अनुरोध गरिएको छ ।

Leave a Reply