पछिल्लो समय म्याग्दीमा सत्ता र प्रतिपक्ष दल बिच कार्यकर्ता तानतानको होडबाजी नै चलेको छ ।  जिल्ला तथा गाउँस्तरीय कार्यक्रम सञ्चालन गरी नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले एकअर्काको पार्टीबाट स्थानीयस्तरका नेता तथा कार्यकर्तालाई आफुँतर्फ आर्कषित गरिरहेका छन् ।

सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकमा मालिका भित्रका विभिन्न वडाबाट नेकपा मा ८५ जना प्रवेश गरेका छन् ।

मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको मालिका–६ का वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताउनुभयो । उहाँका अनुसार प्रवेश गर्नेमा अधिकांस नेपाली कांग्रेसका स्थानीयस्तरका कार्यकर्ता छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई प्रतिनिधि सभा सदस्य समेत भुपेन्द्रबहादुर थापा, जिल्ला सचिब हरिकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका सभापति देबेन्द्रबहादुर केसी, जिल्ला कार्यालय सदस्यबालकृष्ण सुवेदी, प्रदेश कमिटी सदस्य मुना बानियाँ, मालिका–७ वडा अध्यक्ष सुविन जुग्जाली लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो । नवप्रवेशीलाई उचित जिम्मेबारी दिने बताइएको छ ।

केहीदिन अगाडी नेपाली कांग्रेसमा अनेरास्ववियू म्याग्दीका पूर्व अध्यक्ष रुद्ध किसान प्रवेश गरेका थिए । तत्कालिन नेकपा एमालेबाट विद्यार्थी आन्दोलनमा सक्रिय किसान सहित नेकपाबाट धेरै नेतातथा कार्यकर्ता प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमसँगै जिल्ला र ग्रामिण क्षेत्रमा पार्टीका गतिविधि तिब्र हुन थालेपछि प्रशासनले तत्काल स्थगित गर्न गरेको अनुरोधलाई दुवै पार्टीले सहमति जनाएपनि अव प्रवेश सहित राजनीतिक कार्यक्रमले तिब्रता पाउने देखिएको छ । दुबै पार्टीको प्रतिस्पर्धाले जिल्लाका साझा मुद्धा भने ओझेलमा परेका छन् ।

Leave a Reply