विगत एकसातादेखि अवरुद्ध पश्चिम म्याग्दी जोड्न बेनी-दरवाङ सडक सोमबार मर्मतसँगै सिधा सञ्चालनमा आएको छ । जिल्ला प्रशासन र मालिका गाउँपालिकाको समन्वयमा मालिका–६ मा पर्ने घुमाउने भिरको बाङ्गे पहिरो पन्छाएसँगै सिधा सञ्चालनमा आएको छ ।
२४ किलोमिटरको बेनी–दरबाङ सडकखण्ड अन्तरगत विभिन्न स्थानमा खसेको पहिरोले आवतजावतमा समस्या भइरहेको थियो ।
सडकखण्ड अन्तरगत बर्षाका कारण रोकिने सम्भावना रहेको स्थानमा स्काभेटर सहित आवश्यक तयारीमा बस्न समेत स्थानीय तह र जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक प्रजिअ उमाकान्त अधिकारीले समेत सडकको ठेक्का लिएका ठेकेदारलाई निर्देशन दिनुभएको छ ।
म्याग्दीका प्रहरी नायक निरक्षक किरनजंङ्ग कुवँरका अनुसार सडकको अवरुद्ध हटेपछि यातायातका साधन गन्तब्यतर्फ लागेको बताउनुभयो ।
गएको असार २५ गतेको बाढीले दुखुखोलाको पुल कटानमा परेपछि ठूलो सवारीसाधनका साथै मेसिनहरुलाई वारपार नगर्न गाउँपालिकाले समेत निर्देशन दिएको छ ।
पुलको बेस दुखुखोलाको कटानमा परेपछि पुलमा हेभी ईक्यूमेन्टले भासिने जोखिम रहेकाले तत्काल कडाई गरिएको छ ।
सडकको पहिलो चरणमा १४ किलोमिटर सडक स्तरउन्नती गरी कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले लामा समानान्तर जेभीसंग ४४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेपनि काम सुस्त गतिमा रहेको छ ।
सडक सञ्चालनमा आएपछि पश्चिम मालिका र धवलागिरी गाउँपालिका सहित बागलुङका जनतालाई समेत सहज भएको छ । बागलुङको ताराखोला गाउँपालिका विभिन्न बस्तीका बासिन्दाले आफ्नै जिल्लामा जान समेत बेनी– दरबाङ सडक प्रयोग गर्ने गरेका छन् । तस्वीर सौजन्य देबेन्द्र चोखाल








