गैरसरकारी संस्था मिलन म्याग्दीद्वारा सोमबार ४१औं सामाजिक सेवा दिवस–२०७७ को सन्दर्भमा कोभिड–१९ विरुद्ध सरसफाइका सामग्री सहयोग भएको छ ।

सप्ताहव्यापी रुपमा मनाइएको सामाजिक सेवा दिवसको अवसरमा गलेश्वर शिवालय मन्दिर र बौद्धिक अपाङ्गता स्रोतकक्षा बाल जागृतिलाई सामग्री सहयोग गरिएको हो ।

‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमसिलता’ भन्ने मूल नारा रहेको यस वर्षको सामाजिक सेवा दिवसको अवसरमा कोभिड–१९ रोकथाम तथा न्युनीकरणका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको मिलन म्याग्दीले जनाएको छ ।

संस्थाले छुट्टाछुट्टै ठाउँमा कार्यक्रम आयोजना गरेर क्रमशः एकएक वटा स्यानीटाइजर स्ट्याण्ड, एक दर्जन साबुन र ५० पिसका दरले सर्जिकल मास्क उपलब्ध गराएको छ ।

बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको पवित्र धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर दर्शन गर्न आउने भक्तजन र ज्येष्ठनागरिक तथा बेनपा–५, पुलाचौरको बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षामा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गरेर स्वास्थ्य र सरसफाइका सामग्रीहरु सहयोग गरिएको छ ।

सामग्री हस्तान्तरण गर्दै मिलन म्याग्दीका अध्यक्ष शिव बानियाँले संस्थामार्फत सानो भए पनि सहयोग गर्ने उद्देश्यले विश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम गर्न स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।

उक्त सामग्रीहरु ग्रहण गर्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले मिलन संस्थाले दिएको सामग्रीको सही तरिकाले प्रयोग गरिने जानकारी दिए । यसैगरी बाल जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्त कार्कीले मिलनबाट प्राप्त सहयोग सामग्रीले बालबालिकाको अध्ययन अध्यापनमा सहयोग पुग्ने बताएका छन् ।

मिलन म्याग्दीका संस्थापक सदस्य तथा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमर बानियाँ र मिलन म्याग्दीका निवर्तमान अध्यक्ष विनय श्रेष्ठले मन्तव्य राखेको कार्यक्रम संस्थाका कार्यकारी निर्देशक दिवा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply