म्याग्दीमा यसवर्ष विविध कार्यक्रमहरुको आयोजना गरी ४१औं सामाजिक सेवा दिवस मनाइएको छ । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दी र जिल्लास्थित विभिन्न संघसंस्थाको आयोजना तथा सहयोगमा दिवस मनाइएको हो ।

सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइएकोमा अन्तिम दिन सोमबार यसवर्ष सामाजिक दिवसको नारा ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमसिलता’ विषयक गोष्ठी सम्पन्न भएको छ ।

गैरसरकारी संस्था महासंघ म्याग्दी, सिविन नेपाल र संगम म्याग्दीको आयोजना तथा बेनी नगरपालिकाको संयोजनमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकिय सचिव चन्द्रमणि सापकोटाले सहजीकरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले सामाजिक रुपान्तरण र परिवर्तनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनले सामाजिक रुपान्तरण गर्न सरकारी तथा गैरसरकारी क्षेत्र एक हुनुपर्ने भन्दै नगरपालिकामार्फत आवश्यक सहयोग गर्ने बताएका छन् ।

सोही कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले उद्यमसिलता पनि सामाजिक सेवा भएकाले ज्ञान, सिप र धारणाको आवश्यक पर्ने बताए ।

उनले रुचि अनुसारको ज्ञान भएमा निरन्तर रुपमा उद्यमको क्षेत्रमा लाग्ने बताउँदै युवा पलायनलाई रोक्न उद्यमसिलताको आवश्यक पर्ने हुँदा तीनै तहका सरकारले यसतर्फ ध्यान दिएर राज्यका कार्यक्रम र क्रियाकलापहरुलाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिए ।

यसअघि दिवसको पहिलो दिन गत मङ्गलबार गैरसरकारी संस्था महासंघ म्याग्दीको आयोजना र संयोजन तथा सगुन स्टेशनरीको सहयोगमा म्याग्दी बालगृहका १३ जना बालबालिकाहरुलाई स्टेशनरी वितरण गरिएको थियो।

दिवसकै अवसर पारेर धौलागिरी टेलिभिजनमार्फत अन्तरसंवाद कार्यक्रम पनि सञ्चालन गरिएको गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेलले बताए ।

त्यस्तै धवलागिरी गाउँपालिका–३, मुनाको धनजनता माध्यमिक विद्यालयका ३१, धवलागिरी–७, ताकमको ताकम माविका १३ र मच्छिमको भूमे आधारभूत विद्यालयका १६ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गरिएको थियो ।

उक्त सहयोग संगम म्याग्दीमार्फत गरिएको थियो भने संगमबाटै सडक पेटीमा बस्दै आएका एक व्यक्तिलाई न्यानो कपडा सहयोग गरिएको छ ।

त्यस्तै बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित बगरफाँटको सरस्वती आधारभूत विद्यालयका ७० जना बालबालिकालाई आइतबार शैक्षिक सामग्री सहयोग गरिएको छ । संगम म्याग्दीले जुमएपको माध्यमबाट कोभिड–१९ र मानसिक स्वास्थ्यसम्बन्धी मनोसामाजिक परामर्श कार्यक्रम समेत सञ्चालन गरेको जनाएको छ।

Leave a Reply