ऐतिहासिक महत्व बोकेको डढेकोट राजदरबारको अवशेषका रुपमा रहेको डढेकोट कोट मन्दिरको पुनर्निर्माणको कार्य सुरु भएको छ । म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको गाजने गाउँभन्दा माथि अवस्थित डढेकोटको पुनर्निर्माण थालिएको हो ।

स्थानीय चन्द्रबहादुर कार्कीको संयोजकत्वमा डढेकोट कोट मन्दिर पुनर्निर्माण समिति गठन गरेर यही असोजको पहिलो सातादेखि निर्माणकार्य सुरु गरिएको समितिले जनाएको छ ।

जिर्ण अवस्थामा रहेको डढेकोटको पुनर्निर्माणका लागि पुलाचौर कोट भगवती मन्दिर व्यवस्थापन समितिमार्फत ७५ हजार रुपैयाँको आर्थिक सहयोगमा डढेकोटको पुनर्निर्माण अगाडि बढाइएको मन्दिर पुनर्निर्माण समितिका कोषाध्यक्ष समेत रहेका स्थानीय अगुवा यामबहादुर बानियाँले जानकारी दिएका छन् ।

१४औं शताब्दीताका ऐतिहासिक पर्वत राज्यको राजधानी पुला गाजने मौलो अन्तर्गतको गाजने डढेकोट, राजदरबार एवं कोट मन्दिरका रुपमा रहेको उक्त मन्दिरको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यसहित पुनर्निर्माण सुरु गरिएको जनाइएको छ ।

काम सुरु गरेको मितिले करिब २० दिनभित्र निर्माणकार्य सक्ने गरी अहिले कोट मन्दिर परिसरमा धमाधम पुनर्निर्माणको काम भैरहेको छ ।

कोट मन्दिरको पुरानो ऐतिहासिक संरचनालाई यथावत् राखेर पुनर्निर्माणको कार्यलाई तीव्रता दिइएको समितिका कोषाध्यक्ष बानियाँले बताए ।

नेपालमा बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन राजाले बनाएको दरबारको भग्नावशेष रहेपनि संरक्षण नहुँदा ओझेलमा परेका छन् । तत्कालीन समयमा राज्य गरेका राजाहरुले आफ्नो बसोबास र सुरक्षाका लागि बनाएका दरबारलगायत संरचनाहरु जिर्ण बन्दै गएका हुन् ।

ऐतिहासिक र पर्यटकीय महत्व बोकेको भए पनि पुराना संरचनाहरु क्रमिक रुपमा जिर्ण बन्दै जान थालेपछि अस्तित्व नै सकिने स्थानीयवासी बताउँछन् ।

जगन्नाथ मन्दिरदेखि करिब आधा घण्टाको पैदल दुरीमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व झल्किने डढेकोट दरबारको संरक्षण, प्रवद्र्धन र आवश्यक प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको छ । डढेकोट मन्दिरमा हरेक वर्ष दसैंमा नवदुर्गा भगवतीको पुजा गर्ने गरिएको छ ।

डढेकाट राजदरबारको आसपासका क्षेत्रबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागसहित छिमेकी जिल्ला बागलुङ र पर्वतको डाँडाकाँडा समेत देखिन्छ । यसैगरी धौलागिरी र अन्नपूर्ण रेन्जका अधिकांश हिमालहरु देखिनुका साथै मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

सिंजा साम्राज्यको पतन भएपछि कर्णाली प्रदेशमा बाईसे राज्यहरु र गण्डकी प्रदेशमा चौबीसे राज्यहरु अस्तित्वमा आएका थिए । त्यसै सिलसिलामा चौबीसे राज्यमध्ये ऐतिहासिक पर्वत राज्यका समालवंशीका तृतीय मल्लराजा दिलिपबम मल्ल (डिम्ब)ले डढेकोटमा राजदरबार बनाएर राज्य गरेको भन्ने किम्बदन्ती रहेको छ ।

सोही समयमा राजा डिम्बले अन्दाजी १५६० तिर भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर गाजने गाउँको बिचभाग हलहलेचौरमा जगन्नाथ मन्दिरको स्थापना गरेका थिए ।

डढेकोट दरबारमा आगलागी भएपछि राजा डिम्बले आफ्नो राज्य ढोल्ठानमा सारेर त्यहीँ दरबार बनाएर बसेका थिए । अहिले पनि डढेकोटमा राजदरबारको कोठा, ढुङ्गा, इनार, सुरुङलगायत भग्नावशेषको रुपमा रहेको छ ।

ढोल्ठानमा राज्य गरेका तत्कालीन राजाले ढोल्ठानलाई राजधानी र हालको बेनीबजारलाई सह–राजधानी बनाएका थिए । सोही क्रममा उनी जाडो याममा बेनी झर्ने र गर्मीयाममा ढोल्ठानमै बस्ने गरेकाले ‘कहिले राजा ढोलीठान, कहिले राजा बेनी’ भनी गीत समेत गाइएको थियो ।

Leave a Reply