भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी मुस्ताङको वार्षिक स्वीकृत बजेट र कार्यक्रम सार्वजनिक भएको छ । मङ्गलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्ष २०७७÷७८ मा केन्द्रद्वारा सञ्चालन हुने बजेट तथा कार्यक्रमबारे जानकारी गराइएको हो ।

म्याग्दी र मुस्ताङ जिल्लामा कार्यालयमार्फत यसवर्ष विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न चालुतर्फ छ करोड दुईलाख ९९ हजार अर्थात् ९६ प्रतिशत र पुँजीगततर्फ २३ लाख ३० हजार रुपैयाँ अर्थात् ४ प्रतिशत बजेट रहेको विज्ञ केन्द्रले जनाएको छ ।

त्यसमध्ये प्रशासनिक खर्चतर्फ ८५ लाख ७५ हजार रुपैयाँ बजेट रहेको जनाइएको छ । गत आर्थिक वर्षमा कुल तीन करोड १३ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सञ्चालन गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी मुस्ताङका प्रमुख नारायण कुसुमले यसवर्ष पशुपन्छी व्यवसाय प्रवद्र्धन कार्यक्रमतर्फ सबैभन्दा धेरै कुल तीन करोड १५ लाख ५० हजार र मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रमतर्फ १३ लाख ५० हजार रुपैयाँ बजेट रहेको जानकारी दिएका छन् ।

यसैगरी पशु स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नका लागि ८३ लाख, पशु आहारा प्रवद्र्धनतर्फ १० लाख, पशु प्रजनन तथा नस्ल सुधारतर्फ आठलाख सातहजार, पशु आनुवांशिक स्रोत संरक्षणतर्फ २९ लाख, पशुपन्छी बजार प्रवद्र्धनमा सातलाख र एकीकृत पशु स्वास्थ्य कार्यक्रतर्फ १७ लाख ५० हजार बजेट रहेको छ ।

त्यस्तै क्षमता अभिवृद्धि कार्यक्रमतर्फ १० लाख २५ हजार, कोभिड–१९ प्रभाव लक्षित कृषि कार्यक्रमतर्फ १५ लाख ५० हजार, सुशासन तथा पारदर्शितासम्बन्धी कार्यक्रम सञ्चालन गर्न छ लाख ५० हजार रुपैयाँ बजेट रहेको विज्ञ केन्द्र प्रमुख कुसुमले जानकारी दिए ।

Leave a Reply