बाढीपहिरोले अस्तब्यस्त बनाएको उत्तरी म्याग्दी हुदै मुस्ताङसम्मको सडकको बेनी-दाना खण्डको अवरुद्ध हटेको छ । गएको असार महिनाको २५ गते यता पटक–पटक अवरुद्ध भएको सडकको रुप्से झरनासम्म मर्मत गरिएको छ ।

म्याग्दी बाहिरबाट यात्रु लिएर गएको पृथ्वी यातायातको डिलक्स बस दानासम्म पुगेको बेनी–जोमसोम कोरला सडक आयोजनका स्थानीय सुपरभाईजर इन्द्रसिंह शेरचनले बताए । ‘यात्रु बोकेर बस दानासम्म आएको छ,‘यात्रुलाई निकै सास्ती भएकाले अवरुद्ध भएका बाँकी ठाउँमा मर्मत भइरहेको छ’ उनले भने ।

गएको साउन ५ गते भारी बर्षासँगै रुप्से झरनामा आएको बाढीले पक्की पुल र सडक बगाएपछि अवरुद्ध भएको झरना आसपासको क्षेत्रमा पटकपटक पहिरोले समस्या पारेको छ ।

छिमेकी मुस्ताङको थासाङ गाउँपालिकासँग जोडिएको काभ्रेभिर आसपासमा जोखिम भएपनि मालबाहक ट्रक सहित साना सवारीसाधन आवतजावत गर्न सक्ने बताइएको छ ।

आयोजना प्रमुख अशोक तिवारी सहितको टोली पहिरोस्थलमै बसेर मर्मतमा सक्रियता देखाएको थियो । काभ्रे र घोप्टे ओडार आसपासका क्षेत्रमा खसेको पहिरो मर्मत गरेपछि मात्रै सिधा यातायात सञ्चालन हुने आयोजनाले जनाएको छ ।

अबको दुईतिन दिन भित्र बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालनको तयारीमा जुटेको आयोजनाले जनाएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको बेनी–जोमसोम सडक गएको असार महिना यता सहज सञ्चालनमा आउन नसक्दा उत्तरी म्याग्दी र मुस्ताङबासी समस्यामा परेका छन् ।

Leave a Reply