फगामका बाढीपहिरो पीडितलाई दाना सेरोफेरो युकेले १२ लाख आर्थिक सहयोग

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा बाढीपहिरो पीडितलाई दानावासीहरू आबद्ध फ्रेन्ड्ली ब्रदर्स दाना सेरोफेरो युकेले झन्डै १२ लाखभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

नेपालको लोक संस्कृतिको जगेर्ना तथा सामाजिक, मानवीय सेवामा सक्रिय रहेको इन्द्रेणी कार्यक्रम मार्फत दानाको फगाममा रहेका बाढीपहिरो पीडितलाई इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, सामाजिक अभियान्ता रमेश प्रसाईले हस्तान्तरण गर्नुभएको छ ।

बिहिबार इन्द्रेणीमार्फत गाउँपालिका उपाध्यक्ष केशमायाँ मगर र वडा अध्यक्ष नरसिंह बहादुर पूर्जा लगायतको उपस्थितीमा १२ लाख हस्तान्तरण गरिएको फ्रेन्ड्ली ब्रदर्स दाना सेरोफेरो युकेले जनाएको छ।

बाढीपहिरोले उठिबास लागेको फगाम गाउँका पीडितलाई यसअगाडी संस्थाका संस्थापक अध्यक्ष कमलबहादुर पूर्जामार्फत ५ लाखभन्दा बढी सहयोग गर्नुभएको थियो । सहयोग रकम स्थानीय बाढीपहिरो पीडितको क्षती अनुसार हस्तान्तरण गर्ने गरी समितिलाई दिइएको पर्यटन ब्यवसायी इन्द्रसिह शेरचनले बताउनुभयो ।

फगाम गाउँमा पूर्ण क्षती, आंशिक क्षती र सामान्य क्षती भएका सबैलाई उक्त सहयोग उपलब्ध गराइने दाना सेरोफेरो युकेका अध्यक्ष बलबहादुर पूर्जाले बताउनुभयो । ‘सबै पीडितलाई उक्त सहयोग उपलब्ध गराइने छ,‘बाढीपहिरोले धेरै क्षती पुगेकोमा दुखी छौ’ पूर्जाले भन्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रवासमा रहेका दानाबासीले गाउँको विकासमा खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो । फ्रेन्ड्ली ब्रदर्स दाना सेरोफेरो युकेमार्फत ज्ञानप्रकाश माविमा १ करोडको भवन, सोही विद्यालयमा १ करोड ५० लाखको अक्षय कोष, संस्थामा आवद्ध पदाधिकारीको विभिन्न अक्षयकोष लगायत गरी करोडौं सहयोग पुगेको छ ।