OLYMPUS DIGITAL CAMERA

मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहाँसिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ मा पर्ने कोटगाउँ शेरपुंजा र पाइजा थरका मगरहरुको गर्बिलो इतिहाँस लुकेको ऐतिहाँसिक गाउँ हो । यही गाउँबाट यी दुई थर मगर समुदाय देशै भरी फैलिएका स्थानीय बृद्धबृद्धाहरुको भनाइ रहेको छ ।

कोटगाउँको इतिहाँस ४ सय वर्ष पुरानो छ । ४ सय वर्ष पहिले सेवा र सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा र पाइजाको बंशबृक्ष झ्याङ्गिएको स्थानीय दलप्रसाद शेरपुंजाले बताउनुभयो ।

शेरपुंजाका अनुसार सेवा र सुन्दर नाम गरेका दुई भाइले थर परिवर्तन गरेर एक भाइ कोट गाउँ र एक भाइ पाखापानीमा बस्न थाले । सेवा जेठा र सुन्दर कान्छा थिए । शेरपुंजा थरका ती दुईभाइमध्ये सुन्दर नाम गरेको भाइले थर परिवर्तन गरी पाइजा बने र उनी कोटगाउँबाट बसाइ सरी पाखापानीमा गए ।

त्यसभन्दा अघि शेरपुंजा थरका मगरहरुलाई सोलीडोली चलाउन र विवाहा गर्न निकै कठिन पर्दथ्यो । उनीहरुका कुटुम्बी कोही नहुँदा विवाहा गर्न समस्या परेपछि गाउँमा बूढापाकाहरुको भेला बसेर सुन्दरलाई पाइजा बनाइ पाखापानीमा पठाएका कोटगाउँका ७२ वर्षिय गौबहादुर शेरपुंजाले जानकारी दिनुभयो ।

सुन्दर पाखापानीमा पाइजा भनेर चिनिन थाले । सुन्दर र सेवाका सन्ततिहरुको एकापसमा विवाहा र सोलीडोली चल्न थाल्यो । त्यसपछि शेरपुंजा र पाइजाका विचमा विवाह हुने चलन शुरु भयो ।दुवै थरको सन्तान झ्याङ्गिदै गए ।

वंश विस्तार गर्नकै लागि शेरपुंजाहरुले एक भाइको थर परिवर्तन गरेर विवाह गर्ने चलन शुरु गरेका र अहिले पाइजा र शेरपुंजाका बीचमा विवाहा गर्ने परम्परा बसेको पाइजाले बताउनुभयो ।

यसरी शुरु भएको शेरपुंजा र पाइजाहरुको बंशवृक्ष झ्याङ्गिदै नेपालका विभिन्न ठाउँहरुमा पुगेको छ । अहिले कोटगाउँमा ९६ घरधुरीको मात्र बसोबास रहेको छ । तीमध्ये शेरपुंजाका ५० घरपरिवार,पाइजाका १७,थजालीका ७,गर्बुजाका १४ र दलितका ८ घरपरिवार मात्र कोटगाउँमा बस्दै आएका छन् ।

Leave a Reply