विगत आठ वर्षदेखि जमिनमा चिरा परेर पहिरो खस्न सुरु भएको म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्ली तोराखेतको पहिरोले त्यहाँका १५ घर परिवार विस्थापित भएका छन् भने पुरै जमिन धाँजा परेको छ ।

विगतका वर्षहरुमा तोराखेतको झाँक्रीस्थानबाट मात्र पहिरो खस्ने गरेकोमा यसवर्ष पहिरो फिजिएर धेरै ठाउँ चिरिएको छ भने जमिन लच्किएर करिब ५ सय मिटर तल झरेको छ । सो पहिरोले तोराखेत र बगरफाँट गाउँ उच्च जोखिममा परेका छन् ।

पहिरोका कारण तोराखेतको झाँक्रीस्थान क्षेत्रका बासिन्दाहरु अन्यत्र सरेपछि तीन वर्ष अघिदेखि गाउँ नै खाली भएको छ । घरगोठमा ताल्चा मारिएको छ भने केही खेतबारीमा खेती गरिएको छ तर, अधिकांश खेतबारी बाँझै छ । जमिन लच्किदा तोराखेत र बगरफाँट सामुदायिक वनमा पनि क्षति पुगेको छ ।

भीषण वर्षाले चर्किएको भागमा पानी जमेको र पुनः वर्षा हुने हो भने जमिन जतिबेला पनि तल खस्न सक्ने स्थानीयको भनाई छ । सदरमुकामदेखि नजिकै रहेको सो पहिरोबारे सम्वन्धित निकायबाट कुनै अध्ययन गरिएको छैन । सम्वन्धित निकायले सो पहिरोलाई सामान्य मानेपनि स्थानीयहरुले भने ठूलै विपत्तिको रुपमा लिएको तोराखेतका देवबहादुर सापकोटाले बताए ।

गाउँको सिरानमा भीर र पुछारमा म्याग्दी नदी रहेको बगरफाँट गाउँ तोराखेतको पहिरोका कारण खतरामा परेको छ । केही दिन अघिदेखिको निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन धाँजाधाँजा भएर चर्केको र त्यहीबाट पहिरो खस्न थालेको सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार, तोराखेतको कृषि सडकदेखि तल झाँकीस्थानसम्मको सम्पूर्ण जमिन तलतिर लच्केको छ भने बाटो माथिको जंगलसमेत तलतिर बग्न थालेकोले वगरफाँटको कुरुङदी र जरुवा क्षेत्रका करिव ५० घरपरिवार उच्च जोखिममा रहेका छन् ।

Leave a Reply