पोखरा बागलुङ खण्ड स्तरोउन्नतीका क्रममा पर्वतको सदरमुकाम कुस्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ ।

कुस्माको खरेहा देखि डम्डारेखोला सम्मको झण्डै २ किलोमिटर खण्ड चार लेनको बन्ने भएको हो । कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको आयोजनाको कामले तिब्रता पाएसँगै पहिले दुई लेनकै सडक बनाउने स्टिमेट भएपनि अहिले चार लेनको रुपमा स्तरउन्नती गर्ने निर्णय हुन लागेको आयोजना प्रमुख आशिष थापा मगरले बताउनुभयो ।

त्यसका लागि आबश्यक सबै तयारी सकिएका कारण चार लेनको सडक बन्ने कुरा पक्का भएको उहाँको भनाई छ। ‘अहिले सम्म चार लेन बन्ने कुरा अन्यौलामा नै थियो।’ उहाँले भन्नुभयो ‘भिओको काम अन्तिम चरणमा भएकाले अब ढुक्क हुने अबस्था छ।’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रहमा दुई लेनबाट चार लेनको सडक बनाउने पुरानो स्टिमेट र बजेट संसोधन गरिएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ ।

लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ ।
मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ ।

२०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।

यता बेनी मालढुंगा सडकखण्ड अन्तरगत कुस्मादेखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीका लागि ८३ करोड ९८ लाख रुपैयामा ठेक्का लगाइएको छ । बागलुङ्गको सिमाना मालढुंगा देखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अबस्था छ ।  न्यूज डबली डटकमको सहयोगमा

Leave a Reply