बेनी नगरपालिका-९ गलेश्वर स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वरस्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले शनिबार गलेश्वरधाम स्थित आश्रममा पुगेर ‘जेष्ठ नागरिक आरोग्य कार्यक्रम’ संञ्चालन गरी जेष्ठ नागरिकहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेकि औषधीहरु वितरण गरिएको थियो ।

देशका विभिन्न जिल्लाबाट आएर आश्रममा बस्दै आउनुभएका बृद्धबृद्धाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी आयोजित शिविरमा चेकजाँच गरी विभिन्न प्रकारको औषधी वितरण गरिएको वैद्य निरिक्षक प्रेमप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रजिअ उमाकान्त अधिकारीको उपस्थितीमा आयोजित शिविरमा छोराबुहारीले आश्रममा छोडेपछि परिवारसंगको सम्बन्ध तोडिएका बृद्धबृद्धालाई उचित हेरचाह सहितको सेवा दिनुपर्ने बताउनुभयो ।

‘आमाबुबा भगवान जस्तै हुन्छन्,‘आश्रममा आमाबुबालाई छोड्ने छोराछोरीले सन्तानको दर्जा पाउँदैनन्’ प्रजिअ अधिकारीले भन्नुभयो ।

घरपरिवार भएका जेष्ठ नागरिकहरुलाई आश्रममा छोडेको खवर सुन्दा वित्तिकै भाबुक हुनुभएका प्रजिअ अधिकारीले बोल्दाबोल्दै आँखा रसाएपछि आफ्नो मन्तब्य टुंगाउनुभएको थियो । सोही अवसरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बृद्धबृद्धाको आवश्यकता पुरा गरेको बताउनुभयो ।

‘कुनैपनि समस्यालाई तत्काल समाधान गर्ने गरी हामीले ब्यवस्थापन मिलाएका छौ,‘कोरोनाबाट जोगाउन आश्रममा घुलमिल हुने अवस्थालाई निरुत्साहित गरेका छौ’ केसीले भन्नुभयो ।

शिविरमा बृद्धबृद्धामा खुट्टा, शरीरका विभिन्न भागमा दुख्ने, नशा, टाउको, मुटुमा समस्या रहेकाले भविस्यमा समेत शिविरलाई निरन्तरता दिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्माले बताउनुभयो । आरोग्य शिविरबाट आश्रममा रहेका ४७ जना जेष्ठ नागरिकलाई सेवा दिइएको थियो।

Leave a Reply