मालिका गाउँपालिका-५ मगरदाङ देविस्थानका ४० बर्षिय आजिम प्रसाद फगामीको शब कोठामा झुन्डिएको अवस्थामा भेटिएपछि मलेसियन प्रहरीले कोठा ‘सिल’ गरेर अनुसन्धान सुरु गरेको छ।

कोठाभित्र पंखामा पासो लगाएको अवस्थामा भेटिएका फगामी खुट्टाले भुई टेकेको अवस्थामा भेटिएकाले हत्या भएको आशंका गरिएपछि स्थानीय प्रहरीले कम्पनीभित्र कार्यरत मलेसियन र विदेशी कामदारलाई निगरानीमा राखेको त्यहाँ रहेका म्याग्देलीले बताएका छन् ।

कम्पनीमै कार्यरत नेपालीले बोल्न नदिनु, कोठामा पासो लगाउनु अगाडी हत्यारासँग निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको जस्तै देखिनुले प्रमाण नष्ट गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीलाई अनुरोध गरिएपछि मात्रै सिल गरिएको थियो ।

प्रहरीले मृतक फगामी सुत्ने कोठाभित्र र कम्पनीका मालिक, म्यानेजर सहितलाई सोझपुछ गरेपनि मलेसियनको प्रभावमा स्थानीय प्रहरी पर्न सक्ने भन्दै मृतकका आफन्त र साथीले निस्पक्ष छानविनका लागि नेपाली दुतावासलाई समेत अनुरोध गरेका छन् ।

मृतक झुण्डिएको अवस्थाभन्दा अगाडी आफन्तलाई पठाएको म्यासेजले झगडापछि हत्या गरेर कृतिम आत्महत्या जस्तो देखाउन खोजिएको भन्दै नेपाली दुतावासमार्फत छानविन र दोषीलाई कारवाहीको माग गरेको मृतकका आफन्त नगेन्द्र फगामीले बताए ।

घटनास्थलको अवस्था हेर्दा हत्या गरिएको देखिएकाले नेपाली दुतावास, एनआरएनए मलेसिया, मोना आइइसी लगायत नेपाली संघसंस्थालाई समेत सहयोग मागिएको छ । लामो समयसम्म मलेसियामा कार्यरत फगामीको कम्पनीकै मलेसियनसँग झगडा भएपछि ज्यान मार्ने धम्की आएको भन्दै मृतक फगामीले जेठान होम सिउथानीलाई सामाजिक सञ्जालबाट म्यासेज पठाएका थिए ।

मृतकको पासर्पोट सहित आवश्यक कागजात खोजी भइरहेकाले घटनाको निस्पक्ष छानविनका लागि नेपाली दुतावासको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मृतक फगामी अक्टुवर १५ तारिकमा घर आउने तयारीमा थिए ।

Leave a Reply