म्याग्दीको सदरमुकाम बेनीबजारमा एकतर्फी पार्किङको नियम उल्लंघन गर्ने प्रहरीकै मोटरसाईकललाई जरिवाना गरिएको छ।

बेनीबजारका विभिन्न स्थानमा ‘नो पार्किङ’मा रहेका प्रहरीको मोटरसाईल, भ्यान सहित अन्य सरकारी कार्यालय र निजी सवारीसाधनले ट्राफिक नियमको उल्लंघन गरेको भेटिएपछि सर्वसाधारणले भन्दा धेरै जरिवाना लिइएको हो ।

उल्लंघन गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नो पार्किङ’ मा रहेको प्रहरीको मोटरसाईकललाई १५ सय जरिवाना तिराइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘नियम सबैलाई समान हुन्छ,‘सामाजिक सञ्जालमा ‘नो पार्किङमा राखिएका अन्य सवारीसाधनको खोजी भइरहेको छ’ प्रनाउ कुँवरले भन्नुभयो । उहाँले बजारभित्र ठूला सवारीसाधनको पार्किङको ब्यवस्थापनका काम भइरहेको बताउँदै पार्किङस्थलमा देखिएमा हटाउन निर्देशन दिएको बताउनुभयो ।

बेनी नगरपालिकाको आर्थिक तथा जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयको प्राविधिक, म्याग्दी उद्योग वाणिज्य संघको सहकार्यमा बेनीबजारको प्रवेशद्धार, बजारभित्र एकतर्फी पार्किङको कार्यान्वयन प्रभावकारी देखिएपनि नियम पालना गराउने निकायकै सवारीसाधन ‘नो पार्किङ’ मा देखिएको भन्दै सामाजिक सञ्जालमा उठेका सवाललाई प्रभावकारी कार्यान्वयनमा सघाउने किसिमको भएको प्रहरीको भनाई छ ।

साँधुरो बेनीबजारको मुख्य र गल्लीमा जथाभावी पार्किङ गर्दा दुर्घटनाको जोखिम र बेनीबजार नै कुरूप बन्दै जान थालेपछि गएको साउन २९ गतेदेखि एकसाता बायाँ र अर्को साता दायाँतर्फ पार्किङ गर्न गर्ने गरी संकेत चिन्ह राखिएको थियो ।

बजारभित्रका सचेत यूवाहरुले प्रभावकारी ट्राफिक अभियानमै साथ दिने बताएका छन्। ‘प्रहरीसँगै हातेमालो गर्ने गरी अभियानमा सघाउँछौ,‘सबैको सहयोग भएमात्रै एकतर्फी पार्किङ सफल हुन्छ’ न्यूरोडको छाहरी होटलका सञ्चालक हरी कँडेलले भन्नुभयो ।

यसैबीच प्रहरीले ‘नो पार्किङ’ मा रहेका सवारीसाधनका बारेमा तत्कालै ट्राफिक कार्यालयमा जानकारी गराउन वा पैसा नलाग्ने १०० मा फोन गरी सूचना दिन समेत अनुरोध गरेको छ ।

प्रहरीले ह्वील लक लगाउन सुरु

‘नो पार्किङ’ मा रहेका सवारी साधनलाई ट्राफिक प्रहरीले धमाधम ह्वील लक लगाउन सुरु गरेको छ । नो पार्किङ क्षेत्रमा सवारी साधन रोकिएको भेटिएपछि ट्राफिक प्रहरीले लक लगाउन थालेपछि सवारीधनी समेत सचेत हुन थालेका छन् । विभिन्न जनचेतनामुलक कार्यक्रममार्फत पटक–पटक सचेत गराए पनि अटेर गरेपछि कारबाहीलाई कडाई गरिएको छ । बजारभित्र साङ्कालले सवारीसाधनको पाङ्ग्रामा चावी लगाउने गरिएकोमा आधुनिक ह्वील लकको समेत प्रयोग गरिने बताइएको छ ।  ट्राफिक सहित प्रहरीले पार्किङको नियमित अनुगमन गर्ने, नियमित मिच्नेलाई कारवाही, फुटपाथका पसल, ठेला गाडा व्यवस्थापन तथा घुम्ती र चोकमा ऐना समेत थप गर्न आवश्यक रहेको बताएको छ ।

 

Leave a Reply