क्या नहीं होता है
जहाँ में करनेवाला चाहिये
अपने ही हथेलीपर सर लेके
मदिना जानेवाला चाहिये । – सन्त कवीर
यदि मान्छेले चाह्यो भने सामान्य अवस्थामा जति उसले गर्न सक्छ, त्यो भन्दा कैयौं गुणा बढी गर्न सक्छ । सिर्फ उसले ऊ भित्र दबिएर रहेको अथाह शक्तिलाई जागृत गर्नुपर्छ । मनुष्यभित्र रहेको अथाह शक्तिलाई जगाउन तीन कुराले मद्दत गर्दछ । जस्तैः आस्था, संकल्प र दुश्मनको चोट । यी तीनमध्ये आस्थाबाट ब्युँझेका व्यक्तित्व हुन् राजु पुन ।

उहाँको जन्म पिता शेरबहादुर सेर्पुजा र माता इन्द्रदेवी सेपुर्जाको कोखबाट कान्छो छोराको रुपमा वि.सं. २००९ वैशाख महिना १२ गतेका दिनमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार भन्ने गाउँमा भएको हो । हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि अनुशासित, जेहेन्दार र प्रतिभावान् जस्ता गुणका धनी थिए ।

आफ्नो प्रारम्भिक शिक्षा गाउँकै श्री महेन्द्र प्राथमिक विद्यालय पाउद्वारबाट अध्ययन पूरा गरी हाई स्कुल अध्ययनका लागि श्री मुक्तिमार्ग माध्यमिक विद्यालय, घारमा भर्ना भई आफ्नो हाई स्कुल अध्ययन शुरु गरेका पुनले ७ कक्षा पढ्दापढ्दै शिक्षक तालिमको लागि छनौट भई तालिम लिन पोखरा पुगेका थिए ।

पोखराबाट फर्केपछि गाउँकै विद्यालयमा पढाउन थाले । यसरी अध्यापनकै सिलसिलामा आफ्नो जेठो दाजुको इच्छा पूरा गर्ने उद्देश्यले भर्तीमा देखिन पुगेका पुन पहिलोपटकमै २०२७ सालमा बेलायती सेनामा भर्ती हुनुभएको थियो ।

प्रतिभावान् व्यक्तित्व राजु पुनले आफ्नो बेलायती सेनाको जीवनमा धेरै राम्रा प्रगतिहरु गर्दै गएका थिए । जसको परिणाम स्वरुप लेफ्टिनेन्ट दर्जा हासिल गर्न सफल हुनुभएको थियो ।

यसरी बेलायती सेनाको सेवाबाट निवृत्त भई नेपाल फर्केपछि साउदी अरबमा जनरल खालीद विन सुल्तानको सुरक्षा व्यवस्थामा खटिए । त्यहाँ पाँच वर्ष बिताए र स्वदेशमै केही गर्छु भनी फर्किए । नेपालमा आएर उनले काठमाडाँैंमा सफा टेम्पुको स्टेशन खोले । जीवन सोचे जस्तो हुँदो रहेनछ ।

दुई वर्षपछि फेरी नेपाल छाडे । अमेरिकी दुताबासको जागिरे भएर युगान्डा पुगे । त्यहाँ ६ वर्ष काम गरे । त्यतिबेला बेलायत सरकार भूतपूर्व गोर्खा सैनिकलाई आवासीय सुविधाको व्यवस्था भयो र उनी पनि सपरिवार बेलायतमा पुगे ।

भौतिक शरीर र बेलायतमा रहेपनि उहाँको मन, भावना आफू जन्मेको प्यारो जन्मस्थलमा भइरहन्थ्यो ।
“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ ।
आफ्नै जन्मभूमिमा फर्केर केही गर्ने सोच बारम्बार मनमस्तिष्कमा आउन थाल्यो ।

यसपछि पुनले आफ्नो जन्मथलोमा फर्केर खयरभारानीलाई व्यवस्थित धार्मिक पर्यटन केन्द्र बनाउने अठोट गरे । यसमा पुनले आफ्नो परिवारबाट समर्थन र सहयोग प्राप्त गरेपछि उनी फरक्क नेपाल फर्केका थिए ।

त्यसो त युगान्डा जानु अघि पुनले म्याग्दीकै पर्यटकीय केन्द्र पुनहिलमा मेजर टेकबहादुर पुनको स्मृतिमा भ्यूटावर बनाउने कामको नेतृत्व गरिसकेका थिए । तिनै मजेर टेकबहादुर पुनको अगुवाइमा पुनहिलमा पर्यटनको बीउ रोपिएको थियो ।

पुनहिल भ्युटावर निर्माणको सफल नेतृत्व गरिसकेका राजु पुनले आफ्नो अनुभव, सीप र ज्ञानको प्रयोग गरी आफ्नै जन्मथलोलाई सुन्दर बनाउने इरादा सहित कम्मर कसेर लागि परे ।

वि.सं. २०६८ सालदेखि खयरभारानी क्षेत्रमा पदमार्ग सुधार, धर्मशाला निर्माण, थान निर्माण लगायतका कामको नेतृत्व गर्दै आएका पुनले शुभेच्छुकहरुबाट सहयोग संकलन गरी खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषमार्फत् निःस्वार्थ रुपमा अहिलेसम्म अनवरत खटिरहेका छन् ।

यसरी संस्थागत रुपमा उदाहरणीय एवम् सराहनीय काम गर्दै आएका पुनको खोप्रामा एउटा सामुदायिक होटल चलाएर त्यसको आम्दानी भारानी क्षेत्रको व्यवस्थापनमा खर्चिने योजना भने अझै पूरा हुनै बाँकी छ । बहुप्रतिभाका धनी व्यक्तित्व राजु पुनको आफ्नो जवानीमा खेलकुदप्रति राम्रो अभिरुचि थियो भने नृत्य, गीत, संगीत एवम् वाद्यवादनमा अब्बल हुनुहुन्थ्यो ।

अहिले उनी ६८ वर्षका भए । अझै सक्रिय जीवन बाँचिरहेका छन् । आफ्नो मात्र नभई समाजका लागि देशका लागि बाँचिरहेका छन् । यसैले म भन्छु राजु पुनका जीवनशैलीले हरेक मनुष्यभित्र दबिएर रहेको सत्कर्म उजागर गरिदिनेछ ।

हामी जे सोच्छा्रै, जे काम गर्छौ, त्यसले केही समयपछि सुक्ष्म रुप धारण गर्छ । त्यही बीज रुप बनेर शरीरमा अव्यक्त रुपमा रहन्छ र फेरी समय पाएपछि अंकुरित भएर फल दिन्छ । मानिसको सारा जीवन यस्तै प्रकारले गढिएको हुन्छ । उसले आफ्नो लक्ष्य आफै बनाएको हुन्छ । मानिस अरु कुनै पनि नियमबाट बाँधिएको हुँदैन । ऊ आफ्नो नियममा आफ्नै जालमा आफै बाँधिएको हुन्छ । राजु पुन यस्ता व्यक्तित्व हुन्, जो आफ्नो मोहको जालो भन्दा पर छन् । यसैले त सफल छन् ।

Leave a Reply