म्याग्दीका पाँचवटै गाउँपालिकामा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी अस्पताल निर्माण गर्न १० लाख रुपैंया निकासा समेत गरेपछि स्थानीय तह अस्थायी अस्पताल बनाउन जुटेका हुन् ।

बेनी नगरपालिका बाहेक जिल्लाका पाँचवटा स्थानीय तहमा मेडिकल अधिकृत, स्टाप नर्स, कोरोना रोकथामका लागि चाहिने औषधि र बेड खरिद गर्न पालिकामा बजेट समेत पठाएपछि संरचना बनाउने स्थान छनौट समेत गरिसकेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडा नं ५ नारच्याङमा नेपाली सेनाले प्रयोग गरेको भवन, रघुगंगा गाउँपालिकाले वडा नं ३ पिप्लेको स्वास्थ्यचौकी, मंगला गाउँपालिकाले बावियाचौर, मालिका गाउँपालिका दरबाङको छ्यारछ्यारे र धवलागिरी गाउँपालिकाले वडा नं ७ ताकमलाई छनौट गरेको छ ।

१० लाख रुपैंया बजेट मध्ये ४ लाख ५० हजार रुपैंया एक मेडिकल अफिसरसहित २ स्टाफ नर्स र एक कार्यालय सहयोगी गरेर ४ जना जनशक्ती, ५० हजार रुपैंयाँ औषधि र ५ लाख रुपैंयाँको बेडसहितका समाग्री किन्न गरी निर्देशिका पठाईएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताउनुभयो ।

‘मापदण्डमा तोकिएको मेडिकल अधिकृत पाउन मुस्किल छ,‘सूचना प्रकाशित गरी अव तयारी थाल्छौ’ सुबेदीले भने । मन्त्रालयको परिपत्रपछि रघुगंगा गाउँपालिकाले पिप्लेको स्वास्थ्यचौकीमा आवश्यक तयारी थालेको छ ।

तीन महिनाका लागि बजेट प्राप्त भएकाले जनशक्तीको ब्यवस्थापन भएलगत्तै सञ्चालनमा ल्याउने धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो । अस्पताल सञ्चालन गर्न चिकित्सक सहित अन्य जनशक्ती करारमा भर्ना गर्न सुचना निकाल्ने तयारीमा स्थानीय तह रहेका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङमा रहेको प्राथमिक उपचार केन्द्रमा मेडिकल अधिकृत भएकाले गाउँपालिकाले अभाव भएमा केन्द्रमा रहेका चिकित्सकको सहयोग लिने प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले बताउनुभयो ।

अस्पतालका लागि औजार, उपकरण तथा अन्य शिर्षकमा खरिदका लागि सञ्चारमाध्यममा सूचना प्रकाशित गरी दशैं लगत्तै सञ्चालनमा ल्याउने तयारीमा छन् । बेनी नगरपालिकामा बेनी अस्पताल नै रहेकाले मापदण्ड भित्र परेको छैन् ।

Leave a Reply