म्याग्दीमा कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। घर विदामा काठमाण्डौ गएर फर्किएका नेपाली सेनाका जुनियर अधिकृतमा रुघाखोकी र ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको टोलीले स्बाब संकलन गरी पिसिआर परीक्षणको क्रममा पहिलोपटक म्याग्दीमा लक्षण सहितको संक्रमित भेटिएको हो ।

काठमाण्डौबाट आएका श्रीबक्स गुल्ममा कार्यरत १ नेपाली सेनाका लक्षण सहितका संक्रमित देखिन थालेपछि देशभित्रबाटै आवतजावत गर्नेहरुबाट कोरोना समुदायमा फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘कडा लक्षण सहितका संक्रमितहरु देशभित्रै छन्,‘अब देशबाहिर भन्दा भित्रबाट जिल्लामा प्रवेश गर्नेहरुलाई निगरानी गर्नुपर्छ’ प्रमुख लम्सालले बेनीअनलाइनलाई भन्नुभयो । नेपाली सेनाका चार जनाको पिसिआर गरिएकोमा मंगलबार दुई जनामा कोरोना पुष्टी भएको थियो ।

लक्षण सहितको संक्रमण देखिएका जुनियर अफिसर काठमाण्डौ विदामा गएर फर्किएको स्रोतले जनाएको छ । संक्रमित काठमाण्डौमा समेत पारिवारिक भेटघाट बाहेक समुहमा घुलमिल नभएको देखिएको स्रोतको भनाई छ ।

छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएको तराईका जिल्ला र समुदायमै कोरोना फैलिएको काठमाण्डौ उपत्यकाबाट आउनेमा लक्षण देखिएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो।

नयाँ संक्रमितमा लक्षण देखिन थालेपछि अव काठमाण्डौबाट आउने यात्रुलाई मालढुंगा आसपासबाटै कडा निगरानीका साथ होल्डिङ सेन्टरमा ल्याउनुपर्ने केसीको भनाई छ ।

काठमाण्डौ लगायतका जिल्लाबाट म्याग्दी आएकाहरु समेत मालढुंगाबाट सवारीसाधन परिवर्तन गरी होल्डिङ सेन्टरबाट पन्छिदै समुदायसम्म पुग्न थालेको अवस्थामा लक्षण सहितको संक्रमति भेटिएकाले थप सर्तकता आवश्यक रहेको बताइएको छ ।

संक्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने जस्ता लक्षणहरु देखिएमा सम्पर्कमा रहेकालाई समेत संक्रमण फैलिने जोखिम अत्याधिक हुने चिकित्सकको भनाई छ ।

‘पहिले देखिएका संक्रमितमा लक्षण देखिएको थिएन,‘लक्षण देखिएका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्छ’ बेनी अस्पतालका एक चिकित्सकले भने । म्याग्दीमा दशैंतिहारमा काठमाण्डौ लगायतका जिल्लाबाट ठूलो संख्यामा भित्रिने गरेकाले समुदायमा कोरोना फैलिने जोखिम उच्च रहेको छ ।

Leave a Reply