म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधामको धार्मिक, आर्थिक र पर्यटकीय महत्व बढ्दै जान थालेपछि देश र विदेशका व्यक्तिहरूका लागि समेत यो तीर्थस्थल आकर्षक गन्तव्य स्थलको रुपमा परिचित हुन थालेकोमा कोरोना कहरका कारण अहिले सुनसान छ ।
म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वरधामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ । त्यसैगरी म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही गाउँ र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रूपमा समेत परिचित छ ।
बाबुु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको शवलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्दपुराणमा उल्लेख छ ।
१९ औं शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर वनाइ त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिदै जान थालेको जानकारहरूले बताएका छन् ।
त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिक स्थल भएको इतिहासकारहरूले बताएका छन् । १९ औं बिसाँै शताब्दीको सुरुवातताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रहरूको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीहरूको समेत सम्पर्क हुने ठाउँको रूपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश वानियाँद्वारा लिखित विभिन्न लेखहरूमा चर्चा गरिएको छ । यो क्रम वेनी जोमसोम सडक विस्तार नहोउन्जेलसम्म जारी रहेको थियो ।
जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर वनेको वराहा पोखरी, जडभरत गुफा, नौ रोपनी क्षेत्रफलको विशाल चट्टानमा जगबिना नै निर्माण गरिएको भगवान् शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्तिहरू घण्टा यहाँका मुख्य आकर्षण हुन् ।
पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ वेनी वजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाहरूको रहेको छ ।
यहाँ रहेको ढुंगाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकहरूका लागि आश्चर्यको विषय वनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नबढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीय तथा त्यहाँ पुग्ने भक्तजनहरूको माग रहेको छ ।
विगतका वर्षहरूमा भक्तजन तथा आन्तरिक र वाह्य पर्यटकहरूले खचाखच हुने गलेश्वर धाम विगत ६ महिनायता सुनसान बनेको स्थानीयले बताएका छन् । Photo: kiran karki