यस वर्ष हिमाल पारीको जिल्ला मुस्ताङबाट दशैँ र तिहारका लागि निकै कम मात्रामा च्याङ्ग्रा ल्याइने भएको छ ।  गत वर्ष २५ हजार भन्दा बढी च्याङ्ग्रा मुस्ताङबाट झरेकामा यस वर्ष कोभिड–१९ को संक्रमणको त्रासका कारण मुस्ताङ र चीनको नाका बन्द भएकोले चीनबाट आउने च्याङ्ग्रा नआउँदा मुस्ताङबाट मात्र बढीमा १० हजार च्याङ्ग्रा बेनीमा झर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र म्याग्दीले जनाएको छ ।

मुस्ताङबाट अहिलेसम्म च्याङ्ग्राका ८÷१० बथान मात्रै बेनीतर्फ झरेका बेनी÷जोमसोम÷कोरला सडकका सव ओभरसियर सचिन पौडेलले जानकारी दिए ।

उनका अनुसार च्याङग्राको मूल्य मुस्ताङमा नै आकासियको छ । गतसालको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य ३०देखि ५० प्रतिशतले बृद्धि भएको उनले बताए । पौडेलका अनुसार रोजा च्याङग्राको मूल्य मुस्ताङमा नै २६देखि २८ हजारसम्म पर्ने गरेकोे छ ।

बेनीसम्म आइपुग्दा ती च्याङ्गाको मूल्य ३२ देखि ३५ हजार रुपैयाँसम्म पर्ने व्यापारिहरुले बताएका उनले जानकारी दिए । डोल्पा र चीन क्षेत्रबाट भेडा च्याङ्ग्रा नआउँदा मुस्ताङ्गी कृषकले च्याङ्ग्राको मूल्य बढाएका हुनसक्ने व्यापारीहरुको भनाइरहेको छ ।

‘दशैं आउनै थाल्यो,तर मुस्ताङ्गी च्याङ्ग्रा आएनन्,यसपालि त च्याङ्ग्राको मूल्य पनि छोइसक्नु छैन रे’ बेनीको कालीपुलमा प्रविण दुराले भने ‘बोइलरकै भरमा दशैं टार्नुपर्ला जस्तो पो छ त ।’

विगतका वर्षहरुमा डोल्पा र चीनबाट प्रशस्त मात्रामा भेडा च्याङ्ग्रा मुस्ताङहुँदै बेनी झर्ने गर्दथे । बेनीबाट बागलुङ,कुश्मा,पोखरा हुँदै नेपालका विभिन्न शहरहरुमा पुर्याइन्थ्यो ।

तर,यसवर्ष डोल्पा र चीनबाट भेडा च्याङ्ग्रा नआएका कारण मुस्ताङका कृषकले यसैलाई मौकाको रूपमा लिन खोजेका कारण पनि महँगो परेको हुनसक्ने अनुमान गरिएको छ ।

हिमाली जिल्ला मुस्ताङका कृषकहरुका लागि भेडाच्याङ्गा्रा आम्दानीको बलियो स्रोत हो । विगतका वर्षहरुको तुलनामा यस वर्ष मुस्ताङी कृषकले च्याङ्ग्राबाट राम्रो आम्दानी गर्ने स्थानीय व्यवसायीहरुको भनाइरहेको छ ।

जोमसोमबाट कृष्ण शर्माले दिएको जानकारी अनुसार मुस्ताङबाट फाट्ट फुट्ट भेडा च्याङ्ग्रा झरेका छन् । बेनी जोमसोम सडकमा पनि मुस्ताङी भेडाच्याङ्ग्रा आइपुगेका छन् भने म्याग्दीको सदरमुकाम बेनीमा भित्रिन अझै केही दिन लाग्ने उनले बताए ।

बेनी जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरुलाई भेडा च्याङ्ग्रा समयमै बजारमा पुर्याउन समस्या भएको उनले बताए ।

उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ । गतबर्ष चीन र डोल्पाबाट ल्याइएका र मुस्ताङका गरी मुस्ताङबाट २५ हजार ४ सय भेडाच्याङग्रा निकासी भएको थियो ।

भेडापालनलाई प्रमुख पेशा बनाएका कृषकले चरनक्षेत्र सहित चितुवाको आक्रमणबाट जोगाउन धुम्ती चरण र गोठको ब्यवस्था गरेकाले यसबर्ष कम क्षती भएको जनाइएको छ ।  हिमाली क्षेत्रको जडिबुटी खाने भएकोले मुस्ताङ्गी भेडा च्याङ्ग्राको मासु स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।

गत बर्षहरुमा भन्दा यस बर्ष बिभिन्न ठाउँमा कर तिर्न पर्ने र बाटोमा च्याङ्ग्राका हेरालुलाई प्रतिदिनको रु १ हजारदेखि १ हजार ५ सय ज्याला दिनुपर्ने भएकाले भेडाच्याङग्रा महंगो भएको व्यापारिहरुको भनाई छ ।

गत वर्ष २२ देखि ३० हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङग्रालाई व्यापारीले किसानबाट १७ हजार देखि २४ हजार रुपैयाँसम्ममा खरिद गरेको थिए ।

तर यस वर्ष भने २६ देखि २८ हजार रुपैयाँमा व्यापारीहरुले कृषकहरुबाट खरिद गरेका छन् ।  उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप क्षेत्रमा पालेका भेडाच्याङग्रा बजारमा आउन थालेका हुन् ।

मुस्ताङमा रोगीभेडाच्याङ्ग्रा निकासी हुन नदिने गरी स्वास्थ्य परिक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमती दिइने भेटेरीनरी अस्पताल तथा पशु सेवा विक्रि केन्द्र म्याग्दीका प्रमुख कुसुमले बताए ।

मुस्ताङमा भेडाको तुलनामा च्याङ्ग्राको संख्या धेरै हुने गरेको छ । म्याग्दी, बागलुङ, पर्वत, कास्कीका साथै देशका विभिन्न जिल्लाबाट  भेडाच्याङ्ग्रा गरिद गर्न व्यापारीहरु मुस्ताङ पुग्ने गर्छन् ।

व्यापारीहरुले गत वर्ष मुस्ताङको बारागुङ मुक्तिक्षेत्रमा प्रति गोटा भेडाच्याङ्ग्राको १ सय र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ३५ रुपैयाँको दरले कर तिरेका थिए । मुस्ताङबाट झरेका भेडाच्याङग्रा म्याग्दीको बेनी हुदै काठमाडौँ, पोखरा, चितवन, बाग्लुङ, कुश्मा र पोखरा सम्म पुग्ने गर्छन् ।

बाहिरी जिल्लाबाट आएका ब्यापारीका अनुसार कृषकले नै ब्यापारीको भूमिका निर्वाह गर्न थालेपछि आगामी बर्षमा मुल्य थप आकासिने बताएका छन् ।

गोठमै महंगो हुन थालेको भेडाच्याङग्रा मुस्ताङ बाहिरबाट खरिद गरेर मुस्ताङीले आफ्नो गोठसम्म ल्याउने गरेका छन् । मुस्ताङ बाहिरबाट आएका नेपाली ब्यवसायीले सिधै तिब्वती भेडाच्याङग्रा खरिद गर्न पाउँदैनन् । तीनमहिना अगाडीबाटै ब्यापारीले भेडाच्याङग्रा बुकिङ गर्ने गरेका थिए । File photo

Leave a Reply