गैह्र आवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा सोमबार खिचिएको एक तस्बिर निकै भाइरल बन्यो । राजनैतिक दलका शिर्ष नेताहरुले जसरी नै संघका पदाधिकारीले हामी एक भयौं है भन्दै हातमाथि गरेर सामुहिक तस्विर लिन पनि भ्याए ।

तस्विर देख्नेहरुमा अबदेखि एनआरएनए पोर्चुगलका पदाधिकारीहरुमा सद्बुद्धि आएकै हो त भन्ने कौतुहलता पनि जाग्यो । कतिपयले त दुई दिनको तर्की नबनोस् भन्दै राम्रो काम गर्न अनुरोध गरे ।

एकताको तस्विरबारे युरोनेपाल न्युज डटकमले सत्यता जान्ने प्रयास ग¥यो । तस्विरबारे संघका नवनियुक्त प्रवक्ता रामचन्द्र खनालसँग जिज्ञासा राख्दा उनले संघका पदाधिकारीले अबदेखि मान्छे नकुट्ने लिखित प्रतिबद्धता गरेको जानकारी दिए ।

पछिल्लो पटक संघका उपाध्यक्ष अशोक गुरुङ र महासचिव हेमराज सुवेदीबीच भएको कुटपिट प्रकरणलाई निष्कर्षमा पु¥याउन गरिएको प्रयास सफल भएको बताए । घटनामा संलग्न गुरुङ र सुवेदीले आफुले न्याय पाउनुपर्ने भन्दै संघमा निवेदन दिएपछि दुवै पक्षलाई मिलाउनका लागि संघले अनुशासन समितिमा पठाएको थियो ।

पूर्व अध्यक्ष रमेशकुमार गुरुङ संयोजक रहेको समितिले संघका आइसीसी सदस्यद्धय नारायणकाजी मगर र रविन अधिकारीको रोहवरमा दुवै पक्षलाई मिलाउन वार्ता गरेको थियो । वार्तामा दुवैपक्ष मिल्न राजी भएपछि कार्यसमितिमा पठाइएको अनुशासन समितिका संयोजक गुरुङले जानकारी दिए ।

यता कार्यसमिति बैठकमा पीडकको आरोप लागेका गुरुङ र पीडित भनिएका सुवेदीले अबदेखि संघमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सहकार्य र एकताबाट पछि नहट्ने प्रतिबद्धता जनाएका छन् । संघका लागि यो निकै सकारात्मक विषय हो’ प्रवक्ता खनालले भने ।

बैठकमा संघका अध्यक्ष तिलक गैरेसहित अन्य पदाधिकारी, आइसीसी सदस्यद्धय मगर र अधिकारी पनि थिए । उनिहरुकै रोहवरमा गुरुङ र सुवेदीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ ।

संघका अध्यक्ष गैरेले आगामी दिनमा संघकै पदाधिकारीबाट कुटपिट लगायतका घटना दोहोरिए स्वतः बर्खास्त गरी कारबाही गरिने बताए । ‘अब सबै एक भएर संघका गतिविधिमा अघि बढौं ।’ उनले भने, ‘संघप्रति सबैको माया र सद्भाव भएकोले संघमाथि आँच आउने काम कोही कसैले नगरौं ।’

सके राम्रो गर्नुस्, नसके नबिगार्नुस्–अध्यक्ष गैरे

संघका अध्यक्ष गैरेले पदाधिकारीहरुलाई संस्थामा बसेर सके राम्रो गर्न र नसके नबिगार्न अनुरोध गरेका छन् । उनले कोरोनाका कारण योजनाबद्ध ढंगले काम गर्न नपाएको गुनासो गरे । ‘एकातिर कोरोना र अर्कोतिर पदाधिकारीबीचको झगडाले काम गर्न पाइएन् ।’ उनले भने, ‘निर्बाचित र मनोनित सदस्य सबैको सहयोग, सद्भाव र माया संघका लागि उत्तिकै महत्वपूर्ण छ । त्यसैले बाँकी कार्यअवधिमा समाजका लागि राम्रो काम गर्नुपर्छ ।’ उनले आरोपप्रत्यारोप र कुटपिटजस्ता अनावश्यक काममा समय बर्बाद नगर्न अनुरोध गरेका छन् ।

संघमा रामको छलाङ

वर्तमान समितिको कार्यकाल १० महिनामात्रै बाँकी रहँदा प्रवक्तामा मनोनित भएका रामचन्द्र खनालले राम्रै छलाङ मारेका छन् । उनले कार्यालयमै बैठक हुनुपर्ने, अध्यक्ष गैरेलाई काम गर्ने वातावरण बनाउनुपर्ने, कुटपिट घटनामा जोडिएका उपाध्यक्ष गुरुङ र महासचिव सुवेदीसहितको एनआरएनए चाहिन्छ भन्दै आवाज उठाउँदै आएका थिए । प्रवक्तामा मनोनित भएपछि खनालले कस्तो भुमिका निर्वाह गर्छन भन्ने आम चासो पनि थियो । पछिल्लो घटनाक्रम निष्कर्षमा पु¥याउन खनालको सक्रिय भुमिका रहेको एनआरएनएका पदाधिकारीको भनाई छ ।

‘पदाधिकारीको साथ सहयोग विना अध्यक्षले काम गर्न सक्दैनन्, त्यसैले सबैमा एकताको खाँचो छ ।’ प्रवक्ता खनालले भने, ‘अब काम गरेर देखाउनुको अर्को विकल्प छैन् ।’ हजारौं नेपालीको आशा र भरोसा बोकेको संस्थामा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा खनालको तर्क छ । ‘सधै संस्थालाई विवादै विवाद र अनिर्णयको बन्दी बनाएर कसैको भलाई हुँदैन्’ उनले भने ।

कार्यसमितिमा बसेर आफ्नो दायित्व नभुलौं– पूर्व अध्यक्षहरु

संस्थालाई पटक पटक विवादमा तानेकोप्रति पूर्व अध्यक्षदेखि समाजका अगुवाहरु निकै चिन्तित छन् । उनिहरुले संघभित्र बसेर खराब काम नगर्न पदाधिकारीहरुलाई सुझाव दिएका छन् । पदाधिकारीहरुले आफ्नै अध्यक्षलाई चेपुवामा पारेको गुनासो गरेको उनिहरुको गुनासो छ । संघका पूर्व अध्यक्ष रमेश गुरुङले समाजलाई बिकृतितिर लैजाने की नलैजाने भन्ने कुरा एनआरएनएमा जोडिएका साथीहरुको हातमा रहेको बताए । उनले कार्यसमितिमा बसेर आफ्नो दायित्व बिर्सन नहुने तर्क गर्दै ३५ हजार नेपालीको विश्वास र भरोसामाथि तुषारापात नगर्न आग्रह गरे ।

उता अर्का पूर्व अध्यक्ष भीम केसी कमलले संस्थामा भएका व्यक्ति निष्पक्ष, विवादरहित, मर्यादित, स्यंमसेवी र अनुशासित हुनुपर्नेमा जोड दिए । उनले आगामी दिनमा संघका नराम्रा कुरा सुन्न नपरोस् भन्दै पदाधिकारीलाई सच्च्नि आग्रह गरे । उनले संघले नेपाली समुदायलाई प्रत्यक्ष फाइदा हुने मुद्धामा अघि बढ्न आग्रह गरे ।

उता संघका निवर्तमान अध्यक्ष कुवेर कार्कीले पनि बाँकी रहेको १० महिनाको अवधिमा धेरै काम गर्न सकिने भन्दै नेपालीको पक्षमा काम गर्न सुझाव दिए । उनले झै–झगडा र आपसी मनमुटावलाई त्यागेर संघ र नेपाली समुदायबीच सुमधर सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।

यसैबीच संघका आइसीसी सदस्यद्धय मगर र अधिकारीले कसैले व्यक्तिगत रिसीइबी साँधेर संघलाई बदनाम गर्न नहुने तर्क गरे । उनिहरुले संस्था र व्यक्ति फरक पाटो भएको भन्दै संस्थाभित्र बसेर गलत काम गर्न कसैलाई छुट नभएको बताए ।

‘पछिल्लो समय संस्थालाई बदनाम गर्ने काम भएको छ । जुन निकै तल्लोस्तरको काम हो ।’ अधिकारीले भने, ‘हजारौं नेपालीको आशामाथि कसैले पनि खेलबाड नगरौं । पद किन र केका लागि भन्ने कुरा घटनामा संलग्न जो कसैले पनि बुझन् जरुरी छ ।’

संघको पछिल्ला क्रियाकलापप्रति समाजका अध्यक्षहरुले पनि चिन्ता व्यक्त गरेका छन् । ३५ हजार नेपालीको रेखदेख गर्नुपर्ने दायित्व भएपनि संघका पदाधिकारी पटक पटक आफैं बादविवाद गर्ने र घटना आफैं मिलाउने काममात्र भइरहेको लमजुङ समाजका अध्यक्ष लोकेन्द्र गुरुङले गुनासो गरे ।

उनले जिम्मेवार व्यक्तिबाट नेपाली समुदायमाथि आँच आउने कामभन्दा पनि सबैको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । यस्तै, बागलुङ समाजका अध्यक्ष प्रेम खड्काले पनि नेपाली नेपालीबाटै असुरक्षित हुनु दुखद् पक्ष भएको गुनासो गरे । उनले मिल्नुको विकल्प नभएको भन्दै आगामी दिनमा नेपाली समुदायको पक्षमा जिम्मेवार भएर काम गर्न सुझाव दिए ।

सहमति, सहकार्य र प्रतिबद्धता दुई दिनको तर्की नबनोस्

संघको वर्तमान कार्य समितिको १३ महिनाको कार्यअवधिमा तीनवटा घटना घटेका छन् । तीनवटै घटनामा संघका जिम्मेवार पदाधिकारीको संलग्नता देखिन्छ । जसका कारण संघको छवि धुमिल भएको छ । त्यसो त एनआरएनए पोर्चुगलमा लोकतान्त्रिक पक्षधरहरुको नै बहुमत छ । तर यो अवधिमा काम हुन नसकेकोप्रति अग्रजहरु चिन्तित छन् ।

आफ्नै पदाधिकारीको घटना मिलाउँदैमा कार्यकालको अवधि सकिन लागेको संघका शुभचिन्तकहरु बताउँछन् । हरेक घटनामा सहमति, सहकार्य र प्रतिबद्धतासहितको लिखित सहमति गरेपनि सहमतिको मसी सुक्न नपाउँदै घटना दोहोरिनु गलत भएको संघका पूर्व अध्यक्ष केसीको भनाई छ ।

ढिलै भएपनि विपरित दिशामा फर्किएका र कुटपिटको घटनामा आरोप लगाइएका पदाधिकारी एकै मंचमा आएर एकताको भाव देखाउनु राम्रो र शुभ लक्षण हो । तर यो दुई दिनको तर्की नबनोस् ।

बैठकमा आधा पनि उपस्थित भएनन्
कोरोना सुरु भएदेखि यता पहिलोपटक सोमबार कार्यालयमा बैठक बोलाइएको थियो । भर्चुअल बैठक बस्दा समस्याको समाधान नहुने भन्दै कार्यलयमा बैठक बोलाइएको प्रवक्ता खनाल बताउँछन् । तर बैठकमा १२ जनाभन्दा बढी सहभागि भएनन् । जबकी समितिमा ३१ जना छन् ।

Leave a Reply