बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्क बिच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताउनुभयो ।
बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ । आवत जावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ती भएको छ ।
भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो । हाल चालू रहेको एउटा मात्रै थामडाडा–मरेक–छेपारे–मुसुङ–भकिम्ली सडकमा नियमित गाडी चल्दैन् । पहिले भकिम्लीबाट बेनी आउन तीस मिनेट समय लाग्थ्यो । सडक घुमाउरो भएकाले आवत जावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताउनुभयो ।
मरेकको सडकमा ढुवानीका लागि ट्याक्टर मात्र मुस्किलले चल्छ । पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताउनुभयो । घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयवासी यातायात सुबिधाबाट बञ्चित भएका छन् ।
हेलगौडाको पहिरोले भकिम्लीको समग्र विकासलाई अबरोध गरेको वडा अध्यक्ष पदम पुन बताउनुहुन्छ । “यो पहिरोले हाम्रो विकासको गतिलाई ब्रेक लगाएको छ”, उहाँले भन्नुभयो, “बस्तीलाई जोखिममा पारेर पहिरोमै फेरी सडक बनाउन सम्भव नभएकाले विकल्पको अध्ययन शुरु गरेका छौँ ।”
भिरालो पाखोमा खनिएको सडकको भल व्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाइ छ । पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तीलाई समेत जोखिम बनाएको छ । भकिम्लीलाई यातायात सञ्जालमा जोड्न बैकल्पिक सडकको पहिचानका साथै जोखिममा परेको हलेगौडाको बस्तीमा थप क्षति हुन नदिन तत्कालै संरक्षणको काम गर्नुपर्ने वडा अध्यक्ष पुनले बताउनुभयो । भिरालो पाखो चिरा–चिरा परेर पहिरो सक्रिय भएको वडा सदस्य गेमप्रसाद घर्तीमगरले बताउनुभयो । – रासस