‘दृष्टिप्रतिको आश’ भन्ने मूल नारासहित बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा विश्व दृष्टि दिवस–२०७७ मनाइएको छ । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीको आयोजनामा निःशुल्क आँखा जाँच शिविर कार्यक्रमसहित दिवस मनाइएको हो ।

नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत १३ जना बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गरिएको नेत्रज्योती संघ म्याग्दी शाखाले जनाएको छ । यसैगरी बालगृहका ४ जना कर्मचारीको समेत आँखा परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा ४ जना बालबालिकाहरुले चस्मा लगाउनुपर्ने भेटिएको नेपाल नेत्रज्योती संघ म्याग्दीका केन्द्र प्रमुख दिनेश बानियाँले जानकारी दिएका छन् ।

निःशुल्क आँखा शिविरमा केन्द्र प्रमुख बानियाँले बालबालिकाहरुको आँखा चेकजाँच गर्नुका साथै प्राविधिक सेवा उपलब्ध गराएका थिए । शिविरको उद्घाटन गर्दै नेपाल बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महतले जिल्लास्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगले बालगृह सञ्चालनमा राहत मिलेको बताए ।

उनले नेत्रज्योती संघले शिविर आयोजना गरी बालबालिकाहरुको आँखा परीक्षण गर्नु अत्यन्तै सराह्रनीय काम भएको बताउँदै आगामी दिनमा उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिने बताएका छन् ।

नेपाल नेत्रज्योती संघ म्याग्दी शाखाका सभापति अमर बानियाँले संघमार्फत आगामी दिनमा विद्यालयस्तरमा निःशुल्क आँखा शिविर आयोजना गरी बालबालिकाहरुको आँखा परीक्षण गरिने योजना रहेको जानकारी गराएका थिए ।

उनले मानव स्वास्थ्यको सबैभन्दा प्रमुख अङ्ग आँखा भएकाले समय समयमा चेकजाँच गर्नुपर्ने बताए । त्यस्तै केन्द्र प्रमुख दिनेश बानियाँले आँखालाई स्वस्थ राख्नका लागि हरियो सागपात तथा पहेंला फलफुल नियमित रुपमा खानुपर्ने र आँखाको चेकजाँचमा ध्यान दिनुपर्ने बताए ।

नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँको अध्यक्षता, उपसभापति याम शाक्यको स्वागत र सचिव राजेन्द्र आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठनागरिक नैनकुमार श्रेष्ठ, संघका पदाधिकारीलगायत पत्रकारले सहभागिता जनाएका थिए ।

Leave a Reply