म्याग्दी प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बस्तीस्तरमा पुगेर घरदैलो कार्यक्रम सुरू गरेको छ। जिल्लाका विभिन्न स्थानमा समुदायस्तरमै पुगेर सचेतनामुलक कार्यक्रम, चाडपर्वमा समुदायको भूमिका, कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड लगायत विभिन्न विषयमा केन्द्रित भएर अभियान सञ्चालन गरिएको हो ।

कोरोनाको जोखिमसँगै चाडपर्वलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी र चौकीमार्फत भइरहेको कार्यक्रमले समुदायलाई थप सचेत बनाएको प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरले बताए ।

‘यसबर्ष कोरोनाको जोखिमसँगै चाडपर्व मनाउनुपर्ने अवस्था छ,‘सरकारले जारी गरेको मापदण्डको पूर्णरुपमा कार्यान्वयन गर्न समुदायको साथ आवश्यक पर्छ’ कुँवरले भने ।

उनले समुदायको सक्रियता बिना कोरोना नियन्त्रण लगायतका गतिविधि प्रभावकारी नहुने भएकाले आमा समुह, यूवा क्लव, स्थानीय संघसंस्थामार्फत चाडपर्वमा हुने विकृति विसंगतीको अन्त्यका लागि समेत अभियान सञ्चालन गर्ने बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीसँग सहकार्य गरी सुरु भएको अभियानमा स्थानीय समुदायको समेत महत्वपूर्ण साथ रहेको छ ।

समुदायसँगको सम्बन्ध प्रभावकारी बनाउन आधारभुत सुरक्षाका कार्यहरुलाई उच्च प्राथमिकता दिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

चाडपर्वमा बजार अनुगमन, शान्ति सुरक्षा कायमसँगै समुदायस्तरमा हुने विभिन्न जनचेतनामुलक कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रजिअ अधिकारीको भनाई छ । ग्रामिण क्षेत्रमा रहेका प्रहरीले स्थानीय तहको कार्यक्रममा समेत साथ दिदै बजार अनुगमन लगायतका गतिविधिलाई समेत तिब्रता दिएका छन् ।

Leave a Reply