उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से झरनाको माथिल्लो क्षेत्रमा भिषण पहिराले तहसनहस बनाएको छ । झरनाको माथिल्लो भागमा रहेको बनजंगल आसपासका क्षेत्रको जमिन चिराचिरा परेको छ भने ठाउँठाउँमा पहिरोसँगै खोच बनाएको छ । भिषण बर्षाले रुप्सेमा मच्चाएको वितण्डासँगै माथिल्लो क्षेत्रमा बर्षा हुदावित्तिकै बाढी आउने जोखिम कायमै रहेको प्रत्यक्षदर्शी दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए।

‘सयौं हेक्टर जमिन पहिरोले क्षती पुगेको छ,‘उचित ब्यवस्थापन नगरे भविस्यमा थप ठूलो क्षतीको जोखिम छ’ शेरचनले भने । उनले माथिल्लो क्षेत्रमा बर्षा हुदाँवित्तिकै बाढी आउने सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने बताए । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक समेत रहेको झरना आसपासका क्षेत्रमा बाढी आउनुको कारण मेलखर्क देखि खोलाखर्कसम्मको पहिरो र माँझपनको क्षेत्रमा चिराचिरा परेको जमिन रहेको शेरचनको भनाई छ । गत साउन ५ गते पनि यहाँ ठूलो बाढी आएको थियो । बाढीले झरनाको सौन्दर्य मात्र होइन एक होटेल ,पुल र स्काभेटर समेत बगाएको थियो । झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेशिन ,बस र पुल बगाएको थियो । बाढीले बगाएको सडक मर्मत गरेर एकतर्फीरुपमा संचालनमा आएको छ । वि.स १९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएको थियो । विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् ।

Leave a Reply