दसैँ नजिकिएको छ । बजारमा मानिसहरूको भीडभाड बढेको छ । उपत्यका बाहिरिने र भित्रिनेहरूको लर्को उस्तै छ । चहलपहलसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि तीव्र रूपमा फैलिइरहेको छ ।

शुक्रबार नेपालमा कुल संक्रमितको संख्या १ लाख नाघेको छ । तीव्र रूपमा फैलिइरहेको संक्रमण रोकिने कुनै छाँटकाँट छैन । यस्तो अवस्थामा सुरक्षित रहेर कसरी चाडपर्व मनाउने त ? यसबारे काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन यस्तो सुझाव दिन्छन् :

बजार निस्कँदा

झण्डै चार महिनासम्म देश लकडाउनमा रह्यो । त्यसपछि निषेधाज्ञाका कारण मानिसहरू बाहिर निस्कन पाएनन् । त्यसैले अब बाहिर निस्कनै पर्ने बाध्यता धेरैलाई छ । दसैँ पनि नजिकिएकाले बजारमा भीडभाड बढ्छ नै । तर, यसरी बजारतिर निस्कँदा व्यक्ति स्वयम्‌ले सावधानी अपनाउनुपर्छ । किनमेलका लागि डिपार्टमेन्ट स्टोर वा भीड कम भएको पसलमा जानुपर्छ ।

मास्क, पञ्जा अनिवार्य लगाउने गर्नुपर्छ । कतिपयले स्यानिटाइजर धेरै प्रयोग गरेको पाइन्छ । त्यसो गर्नु हुँदैन । भरसक डिटोल साबुनले समयसमयमा हात धुने गर्नुपर्छ । दसैँमा मासु बाहिरबाट ल्याएर नखाँदा राम्रो । बाहिरबाट ल्याएमा हातमा पञ्जा लगाउने, मासु तातोपानीमा उमालेर मात्रै पकाउनुपर्छ । सकेसम्म बाहिरको खानेकुरा खान हुँदैन । बजारबाट घर जाँदा आफूले लगाएका लुगा निश्चित स्थानमा राखेर साबुनपानीले हातखुट्टा धोएर मात्रै भित्र पस्नुपर्छ ।

सार्वजनिक यात्रामा

छेउमा चुप लागेर बस्दा पनि कोरोना भाइरस सरिहाल्छ भन्ने पूर्ण सत्य होइन । तर, हामी नेपाली अनजान व्यक्तिसँग पनि बोलिहाल्छौँ । छेउछाउमै रहेर बोल्दाचाहिँ संक्रमण सर्ने सम्भावना उच्च हुन्छ । काठमाडौं उपत्यका त हटस्पट नै बनिसकेको छ । त्यसैले भरसक सार्वजनिक बस चढ्दै नचढ्दा राम्रो हुन्छ । चढ्नै पर्ने भएमा मास्क पञ्जा र शरीर पूरै ढाक्ने गरी लुगा लगाउनुपर्छ ।

एक्लै वा साथीसँग भए पनि बसमा रहुन्जेल एक अर्कासँग नबोल्नुस् । बोल्दा भाइरस सर्ने सम्भावना ८० प्रतिशत हुन्छ । बस चढेर घर पुग्नुभयो भने लुगा खोलेर प्लास्टिक वा कुनै नछुने ठाउँमा राखेर अर्को लगाएर मात्रै घरमा पस्ने गर्नुपर्छ ।

दसैँ कसरी मनाउने ?

दसैँमा चहलपहल बढ्छ । त्यसैले कोरोना संक्रमण अहिलेको भन्दा चार गुणा बढ्ने सम्भावना छ । दसैँमा चहलपहल बढ्ने भएकाले धेरै भीडभाड गर्नु हुँदैन । यस पटक यथास्थानमै रहेर दसैँ मनाउँदा राम्रो हुन्छ । भिडियो कलबाट आशीर्वाद लिने, परिवारमा बसेर रमाइलो गर्ने तर एक ठाउँबाट अर्को ठाउँमा नजाने ।

दसैँमा मासु खानैपर्छ भन्ने छैन । घरमै बनाउन सकिने परिकारहरू खानुहोस् । किन्नैपर्ने अवस्थामा नजिकैको पसलमा मात्रै जाने ।

नजिकै हो भनेर आफन्तकोमा टीका थाप्न नजाँदा राम्रो । आफूलाई एलर्जी हुने खानेकुरा नखाने र चिल्लोपिरो धेरै खान हुँदैन ।

घरमै संक्रमित भए के गर्ने ?

घरमा कोही संक्रमित भए त्यस्ता सदस्यलाई छुट्टै कोठामा राख्नुपर्छ । सकेसम्म सामान्य खानेकुरा खान दिनुपर्छ । बिरामी भएको महसुस हुन दिन हुँदैन । संक्रमितलाई कुनै काम वा कुराले ब्यस्त राख्नुपर्छ । यसो गर्दा डिप्रेसनबाट बचाउन सकिन्छ ।

छिमेकीको भूमिका

परिवार नै संक्रमित भएको अवस्थामा छिमेकीबाट भरपूर सहयोग लिन सकिन्छ । र, छिमेकीले पनि यस्ता परिवारलाई दिल खोलेर सहयोग गर्नुपर्छ । सरसामान किनेर ल्याइदिन सकिन्छ । घरको गेटसम्म पुग्दा संक्रमण हुँदैन ।

बेहोस हुने अवस्थामा मात्रै अस्पतालले बिरामी भर्ना लिने हो ?

यसो होइन । बेहोस् हुने अवस्था भन्नाले संक्रमितलाई ज्वरो आएर औषधि खाँदा पनि निको नभएर एक हप्ता भएको खण्डमा, शरीरमा अक्सिजनको कमी भएमा अस्पताल आउनुपर्छ भन्न खोजिएको हो ।

अस्पतालले भर्ना नलिने भन्ने हुँदैन । स्वस्थ मानिस घरमै बसेर निको हुन सक्ने भए पनि अस्पतालमा बस्दा गम्भीर अवस्थाका बिरामीले अस्पतालमा बेड पाउन नसक्ने भएर सामान्य अवस्थामा संक्रमितलाई अस्पताल नजान भनिएको हो ।

संक्रमित परिवारले कस्ता कुरामा ध्यान दिने ?

संक्रमण हुनेबित्तिकै समस्या हुने भन्ने होइन । तर संक्रमण भइसकेपछि जुनसुकै अवस्थाकोे सिर्जना हुन सक्छ । त्यसैले डाक्टरको फोन नम्बर, एम्बुलेन्सको फोन नम्बर सुरक्षित राख्नुपर्छ । तपाईं निरोगी भए पनि हेलचेक्र्याइँले मृत्युको मुखमा पुर्‍याउन सक्छ ।

यदि लहरे खोकी लागेमा, कफ धेरै भएर सास फेर्न गाह्रो भएमा वा शरीरमा अक्सिजनको कमी भएजस्तो महसुस भएमा सकेसम्म छिटो अस्पताल जानुपर्छ ।

संक्रमितलाई सास फेर्न गाह्रो भएको खण्डमा प्राथमिक उपचारको रूपमा नजिकै रहेको स्वास्थ्य संस्था वा क्लिनिकबाट अक्सिजन दिने व्यवस्था गरिहाल्नुपर्छ ।

हरेक संक्रमितले शरीरको अक्सिजन नाप्ने यन्त्र घरमै राख्न जरुरी छ । मूल्य धेरै नपर्ने हुनाले अक्सिजन लेबललाई भने निगरानी गरिरहनुपर्ने हुन्छ ।

दसैँको समयमा संक्रमितलाई खुसी र हौसला कसरी दिने ?

मनोविश्लेषक वासु आचार्य चाडपर्वको समयमा संक्रमितलाई परिवारसँग घुलमिल हुन नपाएकोमा तनाव तथा आफैँप्रति सानोसानाे कुरामा हीनताबोध हुन सक्ने प्रचुर सम्भावना हुँदा संक्रमित सदस्यलाई परिवारले  निम्न तरिकाले सहयोग गर्न सक्दछन्:

  • घरमा सबै संक्रमित भएको अवस्थामा सँगै बसेर तास, लुडोलगायतका खेलहरू खेल्ने, संक्रमित एक्लै कोठामा बसेको खण्डमा सकारात्मक विचारहरूका किताब पढ्न दिने, भरसक कोठामा बसेर गर्न सक्ने काम दिइरहने । सामाजिक सञ्जालमा धेरै समय नबिताउने ।
  • सामाजिक सञ्जालले मानिसैपिच्छेका फरकफरक कुराहरूले संक्रमितमा डर पैदा हुँदा स्वतः मुटुको चाल बढ्ने, सास फेर्न गाह्रो हुने हुँदा सामाजिक सञ्जालमा सनसनी फैलाउने कोरोनासँग सम्बन्धित कार्यक्रमहरू नहेर्ने र दैनिक १ घण्टासम्म ब्यायाम गर्ने ।
  • कोठामा उज्यालो आउने गरी झ्याल खोल्ने, संक्रमणको डरले अधिकांश संक्रमित बसेको कोठाको झ्याल बन्द हुन्छ । कोठा अँध्यारो हुँदा नकारात्मक सोच हाबी हुने भएकाले घाम पर्ने कोठामा बस्ने ।