उपचारका लागि फेवा सिटी हस्पिटल पोखरामा गएकी बेनी नगरपालिका-७ बेनीबजारकी एक महिलामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बेनीबाट उपचारका लागि गएकी५४ बर्षिया महिला सहित अस्पतालमा उपचारका लागि पुगेका ६ कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमति महिलाका बारेमा स्वास्थ्य कार्यालय म्याग्दीले थप जानकारी लिइरहेको प्रमुख एकनारायण लम्सालले बताए । ‘थप एक महिलामा कोरोना देखिएको छ,‘संक्रमतिको परिवारमा कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु हुन्छ’ लम्सालले भने । महिला पोखरामै उपचारको क्रममा रहेकाको लम्सालको भनाई छ ।

संक्रमति महिलाको स्थायी ठेगाना बागलुङ भएपनि बेनीबजारमा बस्दै आएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालको भनाई छ। असोज २० गते उपचारका लागि पोखरा गएको बताइएको छ ।

संक्रमतिको परिवारसँग भेट्न स्वास्थ्यकर्मीको टोली जाने तयारीमा रहेको छ । शुक्रबार मालिका गाउँपालिका–५ देविस्थानकी एक महिलामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारर्थ एक महिलामा समेत कोरोना पुष्टी भएको थियो ।

पछिल्लो समय कोरोना समुदायस्तरमा फैलिएको काठमाण्डौ र तराईका जिल्लाबाट समेत समुदायस्तरमै आउने क्रम बढेपछि कोरोनाको संक्रमणको जोखिम ह्वात्तै बढेको छ । संक्रमति क्षेत्रबाट आउनेले होम क्वारेन्टाइनको नियम पालना नगर्ने, समुदायमा घुलमिल हुने जस्ता गतिविधि बढ्दै जान थालेको छ ।

Leave a Reply