मनग्य आम्दानी हुने भएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा व्यवसायिक जडिबुटी खेतीका लागि स्थानीय सक्रिय भएका छन्।

थोरै लगानीमा रहरलाग्दो आम्दानी गर्न सकिने सतुवा, टिमुर, अलैची, तिते र विभिन्न किसिमका जडिबुटी खेतीका लागि गाउँपालिका अध्यक्ष डम बहादुर पुन, जडिबुटी विज्ञ चन्द्रमणी सापकोटा लगायतको टोलीले लेकगाउँ आसपासका क्षेत्रको स्थलगत अवलोकन गरेको छ।

जडिबुटी खेतीका लागि उपयुक्त हावापानी र माटो भएकाल विज्ञको सुझाव अनुसार नै अगाडी बढ्ने गाउँपालिका अध्यक्ष गर्बुजाले बताए।‘नारच्याङमा जडिबुटीको प्रचुर सम्भावना रहेको छ,‘जडिबुटी खेतीमा यूवाहरुलाई सक्रिय बनाउने अभियानमा छौ’ गर्बुजाले भने ।

नारच्याङको बेसीगाउँ आसपासमा समेत हुने टिमुर खेती माथिल्लो क्षेत्रमा समेत सम्भव भएकाले पहिलो चरणमा टिमुर खेती विस्तार गर्न सुझाव दिएको जडिबुटी विज्ञ सापकोटाले बताए।

स्थानीय सरकारले नै जडिबुटीको अनुसन्धान, विकास तथा खेतीलाई प्राथमिकतामा राखेपछि सहज हुने विज्ञ सापकोटाको भनाई छ।

अन्नपूर्ण क्षेत्रका सबैजसो बस्तीमा जडिबुटी खेतीको सम्भावना रहेको सापकोटाले बताए । जीवनस्तर उकास्ने अभियानका साथ जडिबुटीको व्यवसायिक खेतीका लागि पहिलो चरणमा ३० रोपनी जमिन तयारी अवस्थामा रहेको अन्नपूर्ण यूवा क्लवका अध्यक्ष श्याम पूर्जाले बताए ।

उनले जडिबुटी नर्सरी स्थापनासम्मको योजना रहेकाले प्राविधिक सल्लाह अनुसार अगाडी बढ्ने बताए । गाउँपालिका भित्र रहेका ८ वडाभित्रको सम्भावनालाई मध्यनजर गरी लगानी गरिने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply