म्याग्दीको रघुगंगा गाउँपालिकाले शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका मावि तहका विद्यालयमा शिक्षकको खोजी सुरु गरेको छ ।

दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठनमा समस्या उत्पन्न भएपछि विद्यालयको आवश्यकता अनुसारको शिक्षक दरबन्दी ब्यवस्थापनका लागि सार्वजनिक सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘दरबन्दीका लागि बजेट समेत विनियोजन भएको छ,‘शुन्य दरबन्दीको अवस्था अन्त्य भएको छ’सुबेदीले भने ।

गाउँपालिकामा वडा नं १ को तिप्ल्याङमा अवस्थित कालिका मावि, वडा नं ३ को मौवाफाँटको ज्ञानोदय मावि, पिप्लेको रघुगंगा मावि, वडा नं ४ दग्नाममा रहेको जनता मावि र वडा नं ८ कुईनेमंगलेमा रहेको रितुङ माविमा गाउँपालिकाले करारमा बिषगत शिक्षक नियुक्त गर्ने, नियमित शैक्षिक गतिविधि केन्द्रित क्रियाकलापलाई समेत थप प्राथमिकता दिने गाउँपालिकाले जनाएको छ ।

कालिकामा विज्ञान, रघुगंगा र रितुङमा अंग्रेजी र ज्ञानोदय र जनतामा गणित बिषयको माध्यमिक तहको शिक्षकको दरखास्त आह्वान गरिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना अन्तर्गत कार्यपालिका बैठकको निर्णय अनुसार कोभिड १९ पछिको अवस्थालाई मध्यनजर गरी थप योजना समेत तयार गरिएको गाउँपालिकाले जनाएको छ।

यता शुन्य दरबन्दीको समस्या भोग्दै आएका विद्यालयका प्रधानाध्यापकले समेत गाउँपालिकाको प्रयासले केही सहज हुने बताएका छन् ।

दग्नामको जनता माविका प्रअ गुन पुनले माविमा दरबन्दीको अभावले चन्दा र बैकल्पिक स्रोतबाट शिक्षक ब्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको अवस्थामा गाउँपालिकाबाट प्राप्त सहयोगले शैक्षिक गतिविधिलाई सहज हुने बताए ।

यसअगाडी म्याग्दीमा मंगला, धवलागिरी गाउँपालिकाले शुन्य दरबन्दी भएका विद्यालयलाई बजेट विनियोजन गरेका थिए । जिल्लामा दरबन्दी मिलान हुन नसक्दा नगरपालिका भित्रकै विद्यालयमा भद्रगोल छ । नगरपालिका भित्र केही विद्यालयमा माविमा दरबन्दी समेत छैन भने केहीमा आवश्यकता भन्दा धेरै छ ।

Leave a Reply