कोरोना भाइरसको संक्रमणको त्राससँगै म्याग्दीका दुई ठूला राजनीतिक दलले आफ्ना नियमित कार्यक्रम स्थगित गरेका छन् । दैनिक पार्टी प्रवेश सहितका भेटघाट कार्यक्रममा ब्यस्त रहेका नेकपा र नेपाली कांग्रेस म्याग्दीले कोरोना त्रासलाई मध्यनजर गरी अर्को सूचना जारी नहुदाँसम्मलाई नियमित कार्यक्रम स्थगित गरेको जनाएका छन् ।

नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले महाधिवेशन केन्द्रित कार्यक्रमलाई कोरोनाको जोखिमका कारण स्थगित गरेको विज्ञप्तीमा उल्लेख छ । ‘जमघट हुने कार्यक्रम सञ्चालन हुदैन्,‘कोरोनबाट जिल्लाबासीलाई जोगाउन आवश्यक रचनात्मक सहयोग गछौं’ गर्बुजाले भने ।

जिल्ला र स्थानीय तह केन्द्रित कार्यक्रममा ब्यस्त रहेका नेता तथा कार्यकर्तालाई आफ्ना गतिविधिलाई स्थगित गरी कोरोना संक्रमणबाट जोगिने अभियानमा केन्द्रित रहन अपिल गरेको सभापति गर्बुजाले बताए।

यता नेकपाका सचिव हरिकृष्ण श्रेष्ठले पार्टीको पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरिएको बताए। ‘अर्को सूचना जारी नहुदाँसम्म नियमित गतिविधिहरु स्थगित गरिएको छ,‘जिल्लाको निर्णयलाई गाउँ कमिटीसम्म लागु हुन्छ’ श्रेष्ठले भने ।

उनले पार्टीले औपचारिक रुपमै निर्णय गरिसकेको अवस्थामा नेता कार्यकर्तालाई समेत निर्णय अनुसार अगाडी बढ्ने अपिल गरे ।

एक महिना यता दुवै राजनीतिक दलले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत भदौ ३ गते जिल्ला समन्वय समितिमा आयोजित सर्वपक्षीय बैठकमा गरेको निर्णयलाई बेवास्ता गर्दै गाउँगाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका थिए।

जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गर्ने, कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको मसि सुक्न नपाउँदै सांसद, जनप्रतिनिधि, सत्तापक्ष र प्रतिपक्ष दलले नै प्रतिबद्धता उल्लंघन गरेपछि आलोचना समेत भएको थियो ।

एक राजनीतिक दलले अर्को पार्टीको कार्यकर्ता तानातानमा केन्द्रित भएपछि राजनीतिक दल, जनप्रतिनिधिबाटै जनस्वास्थ्यको मापदण्ड उल्लंघन भएको थियो । जिल्ला देखि गाउँसम्म दलीय गतिविधि झट्ट हेर्दा निर्वाचनको झल्को दिने जस्ता थिए ।

राजनीतिक दलका गतिविधिले कोरोनाको जोखिमसँगै थप त्रासको जोखिमलाई मध्यनजर गरी प्रजिअ उमाकान्त अधिकारीले प्रतिबद्धता अनुसार कोभिडको अभियानमा साथ दिन राजनीतिक दललाई पुनः अपिल गरेका थिए ।

म्याग्दीमा समुदायमै कोरोना संक्रमणको जोखिम बढेपछि राजनीतिक दलले आफ्नो अभियानलाई स्थगित गरेकोमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले समेत स्वागत गरेको छ । ‘राजनीतिक दलको पछिल्लो निर्णयले उत्साहित भएको छु,‘सबै मिलेर कोरोना केन्द्रित अभियानका जुट्नुपर्छ’ प्रजिअ अधिकारीले भने ।

उनले म्याग्दीमा राजनीतिक दलमा सहमति र सहकार्यको अवस्था रहेकाले जिल्लाका साझा मुद्धा र आवश्यकतामा सँगै हिड्ने वातावरण बनेको बताए । कोरोनाबाट जोगिन जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको हुबहु कार्यान्वयन गर्नुपर्ने प्रजिअ अधिकारीको भनाई छ ।

म्याग्दीबाट उपचारका लागि पोखरा गएका दुई महिलामा कोरोना पुष्टी भएपछि जिल्लामा बाहिरी जिल्लाबाट आवतजावतमा समेत थप कडाई गरिएको छ ।

Leave a Reply