????????????????????????????????????

धौलागिरी हिमालको काखमा अवस्थित यस वेग गाउँ सदरमुकाम बेनीबजारदेखि उत्तर दिशामा पर्दछ भने बेनीदेखि ६ कोषको दुरीमा यस गाउँ रहेको छ । यहाँका मान्छेहरु पहिले पहिले यातायातको सुविधा नहुँदा बेनीदेखि ५–६ घण्टाको पैदल यात्रा गरी गाउँमा आइपुग्थे भने अहिले यातायातको राम्रो सुविधा भएकोले दुई घण्टामै बेनीदेखि वेग गाउँमा आई पुग्न सकिन्छ ।

यस गाउँको सीमाना पूर्वतर्फ कालीगण्डकी र हिस्तान, पश्चिमतर्फ दग्नाम, उत्तर पश्चिमतर्फ चिमखोला दक्षिणतर्फ राखु र उत्तरपूर्व दोगा गाउँ रहेको छ ।

यस वेग गाउँ कूल २४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यहाँका जग्गा जमिन पहिरोसँगै बगिरहने कच्चा भएता पनि खेतीयोग्य जमिन प्रशस्त छन् । भौगोलिक बनावटको दृष्टिकोणले पनि उत्तिकै सुन्दर छ ।

यस गाउँको उत्तरपूर्वपट्टि लहरै अन्नपूर्ण, निलगिरि, माछापुच्छ«े जस्ता सुन्दर हिमालहरुको मनग्गे दृश्यावलोकन गर्न सकिन्छ भने अर्कोतर्फ हरियो वनले ढपक्कै ढाकेको सुन्दर पहाडका चुचुरोहरु पनि प्रशस्तै देख्न सकिन्छ । यहाँका मान्छेहरु सरल, सोझा तथा इमान्दार छन् ।

आफ्नै किसिमको भौतिक रहनसहनमा रमिरहेका वेगबासीहरुको संस्कार, संस्कृतिहरु पनि मौलिक नै छन् । मगरहरुको बाहुल्यता रहेको यस गाउँमा आफ्नो भाषा लिपी नभएकोले नेपाली खस भाषा नै बोल्दछन् । यहाँका करिब ५० प्रतिशत मान्छेहरु कृषिमा आधारित छन् भने ५० प्रतिशत मान्छे वैदेशिक रोजगारीमा गएका छन् ।

जे होस् यहाँका मान्छेहरु धनी र सम्पन्न छन् । यसका साथै धार्मिक तथा पर्यटकीय दृष्टिले पनि वेग गाउँ विभिन्न विशेषताहरुले उत्तिकै धनी छ । जस्तैः गण्डकी प्रदेशको दोस्रो लामो झोलुङ्गे पुल, जुन पुलको परिकल्पना वेग गाउँ निवासी ओमकुमारी थापाले गर्नुभएको थियो ।

पुल निर्माण हुनु अघिका दिनहरुमा वेग बाँदुकका मान्छेहरु वारीपारी आउजाउ गर्न करिब तीन घण्टा हिंड्नुपर्दथ्यो भने अहिले पुल निर्माण पश्चात् आधा घण्टामै वेग बाँदुक आवतजावत गर्न सकिन्छ । यसर्थ यो पुल सुविधायुक्त मात्र नभई उपर्यटकीय दृष्टिले पनि आकर्षणको केन्द्र बनेको छ ।

वेग गाउँको केन्द्र मानिने देउरालीमा अवस्थित धौलेश्वर साम्भसदाशिव महादेव मन्दिरको चैतन्य उर्जाले भरिपूर्ण छ । यसको एउटा रोचक कथा छ, जो यस प्रकारको छ ।

वि.सं. २००१–२ सालतिरको कुरा हो, एक जना भक्ते तिलिजा भन्ने नाम गरेको स्थानीय व्यक्तिको लिस्ने भन्ने ठाउँमा गाईगोरु थियो । ती गोठालाले रातीको समयमा हरेक रात आफ्नो गोठ बसेको बस्तीभन्दा पारिपट्टिको जंगलमा एउटा तेजिलो ज्योति चम्किरहन्थ्यो । यस्तो ज्योति देखेर गोठाला अचम्मित भएका थिए ।

एक दिनको कुरा हो, ती गोठालोले रातीको समयमा गाईको गोबर ध्वजा साथमा लिएर पारिपट्टिको जंगलमा पुगे । त्यहाँ पुगेर हेर्दा एउटा ढुंगा थियो । त्यस ढुंगालाई ध्वजा चढाई गोबरले फेदमा निशाना बनाएर फर्के । भोलिपल्छ हेर्न जाँदा त्यो ढुंगा करिब सत्तरी केजी वजन बराबरको ढुंगा थियो ।

त्यस ढुंगालाई गाउँका चार पाँच जना मान्छेहरुले डोलामा राखी देउरालीमा लिएर खाली ठाउँमा राखेका थिए किनकि त्यतिबेला देउरालीमा मन्दिर थिएन । त्यहाँ राखिएको अद्भूत ढुंगालाई तिप्तानि बुढी (फाँटमा बस्ने दलबहादुर गर्बुजाको आमा)ले उक्त ढुंगालाई पूजन र सेवा गर्न थालिन् ।

वि.सं. २०३९÷०९÷०५ गतेका दिन क्याप्टेन श्री करवीर गर्बुजाले आफ्नो स्वर्गीय माता मतिसराको स्मृतिमा एउटा सुन्दर मन्दिर निर्माण गर्नुभयो । सोही मन्दिरमा नै त्यस अलौकिक ढुंगा (शालिग्राम) लाई मन्दिरमा स्थानान्तरण गरी उक्त दिनबाट विधिवत् रुपमा पूजाआजा गर्ने परम्परा बसेको थियो ।

त्यस समयदेखि २०५५–०५६ सालसम्म लगातार श्री नरनाथ आचार्य पुजारी बनेका थिए । उहाँको निधनपश्चात् अहिले पूर्णबहादुर पुन, विष्णुमति पुन र भमाया गर्बुजाले आजका दिनसम्म निरन्तर पुजारीको रुपमा मन्दिरको सेवा गरिरहेका छन् ।

अहिले यस मन्दिरको परिसरमा बसेर ध्यान गर्दा अपूर्व उर्जा तरंगको महसुस हुने गर्दछ । यस अर्थमा यस मन्दिरलाई धार्मिक पर्यटनको उद्देश्य राखी मन्दिरको स्तरोन्नति गर्दै जाने हो भने धार्मिक सम्पदाको धरोहर बन्ने पक्का छन ।

यहाँका मान्छेहरुले अहिलेसम्म आफ्नो खेतबारीमा रासायनिक मल प्रयोग गरेका छैनन् । यसकारण यहाँको जमिनमा अर्गानिक अन्न, तरकारी, फलफूल उब्जनी हुने गर्दछ । यस हिसाबमा यस क्षेत्रलाई अर्गानिक जोन घोषणा गरी यहाँको भूमिलाई प्रख्यात बनाउन सकिने प्रचुर सम्भावना देखिन्छ भने अर्कोतर्फ प्रशस्त सुन्तलाखेती गर्ने योजनाका साथ सामुहिक सुन्तला फार्म नामक समूहले नौसय सुन्तलाको बिरुवा रोपी सकेको छ ।

व्यक्तिगत रुपमा पनि दसिमा फगामीले सात सय बिरुवा हुर्काई सक्नुभएको छ । यसर्थ यहाँको खेतीलाई अर्गानिक खेती तथा सुन्तला बगान भनेर नामाकरण गरी प्रख्यात बनाउन सकिने प्रशस्त सम्भावना देखिन्छ ।
वेगखोलाको दुधखरी (खरिढुंगा) ले सदियौं वर्षदेखि आजको दिनसम्म चिनिन्छ । जुन वेग गाउँको सीम र वेगखोला नजिकमा रहेको छ ।नविन जुग्जाली

बेनी, रुइसे, भेडीओडार, झण्डी गाड्ने धुरी, पचर्दाको धुरी हुँदै घाँस लेते जोड्ने पदमार्ग बेनी, तिप्ल्याङ्ग, भिसी समाधि बाँदुक, लामो झोलुङ्गे पुल, वेग देउराली, धार्मिक मन्दिर, वेगदेउरालीमा भमेनी गिद्ध बस्ने डिल, मोही बिसाउने डाँडा, चिमालेखर्क, घाँटीखर्क, बाख्राखोरको डाँडा, पत्रजाधुरीसँग पदमार्ग जोडी पर्यटकीय क्षेत्र बनाउन सकिने प्रशस्त सम्भावना देखिन्छ ।

दोस्रो विश्वयुद्धमा भिसी पदक बिजेता तुलबहादुर पुन जन्मेको जन्मस्थल भएकोले यो गाउँको इतिहास गौरवशाली छ । माथि उल्लिखित ६ वटा मुख्य विशेषताहरुलाई हेर्दा यो वेग गाउँको भविष्य सुन्दर देखिन्छ ।

यदि यहाँका मान्छेहरुले आफ्नो जन्मभूमिलाई उत्थान गर्ने इच्छाशक्ति जगाउने सके भने निश्चय नै सम्भव हुनेछ। किनकि वेग गाउँसँग त्यो विवेकको सामथ्र्य छ । सेवा र समर्पणको भण्डार छ । गाउँमै बस्ती गाउँको सेवा गर्नेहरु पोखरा, काठमाडौं बसाइँसराई गरेता पनि गाउँको माया गर्नेहरु विदेशी भूमिमा रहेर पनि गाउँका लागि चिन्तन गर्नेहरु यस वेग गाउँमा जन्मेर हुर्केका असंख्या छन् । यी समाजसेवीका हातहरुले वेग गाउँको सुन्दर आकृति अवश्य नै कोर्नेछन् ।