रघुगंगा गाउँपालिका वडा नं ६ मा पर्ने पाखापानी गाउँका स्वघोषित राजा तुले पाईजा नेपालका प्रथम शहिद भनेर लखन थापाभन्दा ३६ वर्ष अगाडी तत्कालिन गोरखा राज्यको अत्याचारका विरुद्ध विद्रोह गर्दा मारिएपनि इतिहाँसमा कतै उल्लेख गरेको पाइँदैन ।

तत्कालिन १६ हजार पर्वत राज्यका जानकार तथा हालै मात्र ऐतिहाँसिक उपन्यास महारानीबाट २०७६ सालको मदन पुरस्कार विजेत चन्द्रप्रकाश बानियाँको पुस्तकबाटै तुलेको योगदान र इतिहासको चर्चा सुरु भएको छ ।

पाखापानी निवासी बुधे पाईजाका साँहिला छोरा तुलेको नेतृत्वमा वि.सं १८९७ सालमा म्याग्दीको पाखापानीमा ठूलो विद्रोह भएको थियो ।चौविसी राज्य अन्तर्गत पर्ने पर्वत राज्य गोरखामा बिलय भएपछि गोरखाली शासकले पर्वतमा मनपरी गर्न थाल्यो ।

आफूलाई मलेवमको रौतेला (राजकुमार) भएको घोषणा गरेपछि पात्लेखेत, झीँ,पाखापानी,कोटगाउँ लगाएतका क्षेत्रहरुलाई समेटेर पाखापानी राज्य बनाए । पाखापानी गाउँदेखि करिब १ किलो मिटरको दुरीमा रहेको देउराली भन्ने ठाउँमा राजधानी बनाए ।

त्यसैगरी कोटगाउँको शिरानमा एउटा कोत स्थापना गरी हातहतियारहरु जम्मा गरे। राज्य र आफूलाई राजा घोषणा गरिसकेपछि तुले रोहानीले ५० देखि १ सय जनासम्मको धनुर्धारी सैनिक टुकडी बनाएर पाखापानी देउरालीमा किल्ला (गढी) निर्माण गरी गोरखा राज्यका विरुद्ध विद्रोह शुरु गरेको अलिखित इतिहास छ ।

राजाको रुपमा गाउँमा चहलपहल सुरु भएपछि विद्रोह दवाउन र तुलेलाई मार्नका लागि बाइसखानी गोश्वारा अड्डा बागलुङबाट सेना र कर्मचारी खटाएर ज्यान लियो । पाखापानीका तुले मारिएको १८० वर्ष भैसकेको छ ।

अन्याय नसहने र कसैसंग नडराउने उनी त्यतिबेलाका पात्लेखेत र झीँ गाउँमा रहेका भलाद्मीहरुलाई मन पराउने गरेको बुढापाकाले अझै सुनाउँछन्। लिखित इतिहाँस केही पनि छैन,सुनेकै भरमा थाहा पाएका स्थानीयबासी, जनप्रतिनिधिहरु संरक्षणमा जुट्नु सुखद् पक्ष हो ।

सयौंबर्ष पुरानो एउटा इतिहासलाई समेट्ने गरी इतिहास र योगदानको खोजी गरी पार्क, शालिक र पुराना यूद्धका हातहतियार समेत खोजी गरी संग्रालयको स्थापना गर्न सकेमा पर्यटकलाई भित्राउन सकिने बारेमा वडा कार्यालयले निर्णय समेत गरिसकेको छ ।

तत्कालिन समयका प्रमाणहरु भेट्न सम्भव नभएपनि वास्तविकतामा आधारित कृतिम स्तम्भ सहितका पूर्वाधारहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न समेत सहज हुन्छ । पूराना इतिहासलाई मेट्ने, नयाँको खोजी नेपाली शैलीलाई पाखापानीबासीले तोड्नुपर्छ ।

तुले पाईजाको इतिहासलाई गाउँमा झल्कने वातावरण बनाउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकका साथै प्रसिद्ध धार्मिकस्थल मालिकाधुरीसम्म आवतजावत गर्ने धार्मिक पर्यटक, धौलागिरी शेरञ्चुरी पदमार्गमा रमाउने पर्यटकलाई थप नयाँ गन्तब्य बन्न सक्छ । बेनी साप्ताहिकबाट साभार