उत्तरी म्याग्दीको विभिन्न पर्यटकीय गन्तब्य समेटिएको अन्नपूर्ण पदमार्ग विश्वका घुम्नैपर्ने सूचीमा १० वटा गन्तब्यमा परेको छ । विश्वकै चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले महत्वपूर्ण, आकर्षक र साहसिक गन्तव्य समेटेको पदमार्गलाई विश्वकै उत्कृष्टताको दशौं नम्बरमा राखेको हो ।

पदमार्ग अन्तरगत लम्जुङ, मनाङ, म्याग्दी, कास्की जिल्लामा रहेका पर्यटकीय गन्तब्यमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिमा अवस्थित घोरेपानी, पुनहिल समेत सुन्दर गन्तब्यमा पर्छ ।

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र आक्रान्त बनिरहेको अवस्थामा पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले भ्रमण गर्न लायक गन्तव्यमा नेपालको गन्तब्यमा यसअगाडी घोरेपानी, पुनहिल समेत लगातार दुईबर्षसम्म राखेको थियो ।

विश्वका अधिकांस मुलुकका पर्यटकहरु ट्राभल गाइडबुक अनुसार नै भ्रमणको तालिका बनाउने भएकाले अन्नपूर्ण पदमार्गलाई उत्कृष्ट गन्तब्यको सूचीमा राख्नु पर्यटन क्षेत्रमा सकारात्मक सन्देश भएको धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।

‘कोरोनाले अस्तब्यस्त भएको अवस्थामा निराश पर्यटन ब्यवसायीलाई आशा जगाएको छ,‘म्याग्दीमा भ्रमण आउने अधिकांस उत्तरी क्षेत्रमै सिमित हुन्छन्’ बानियाँले भने ।

अन्नपूर्ण पदमार्ग अन्तरगत पर्ने अधिकांस स्थानमा मोटरबाटोले यात्रा छोटिएपनि म्याग्दीको घोरेपानी, पुनहिललाई पदमार्ग भित्रकै उत्कृष्ट गन्तब्यभित्र राखिएको छ ।

धानखेतबाट सुरु हुने अन्नपुर्ण फेरोको पदयात्रा याक हेर्दै उकालो लाग्दा हिउँले भरिएको थोराङला भञ्ज्याङ पार गर्न सकिने पनि लोन्ली प्लानेटले उल्लेख गरेको छ । उच्च भेगको तिलिचो लेकसहित आसपासका गाउँको पनि अवलोकन गर्न पाइने भएकोले यो पदयात्रा रोमाञ्चक रहेको लोन्ली प्लानेटले बताएको छ ।

अन्नपुर्ण फेरो साहसिक पदमार्गमा गनिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र यो पदमार्ग पर्छ । पर्यटन व्यवसायीका अनुसार वर्षमा झन्डै २० हजार विदेशी पर्यटकले फेरोको पदयात्रा पुरा गर्छन ।

Leave a Reply