नेपाल बाल संगठन म्याग्दीको सभापतिमा राजेश शाक्य चयन हुनुभएको छ । अभिभावक विहिन बालबालिकाको अभिभावकत्व ग्रहण गदैं आएको नेपाल बाल संगठनको वर्तमान कार्यसमिति विघटन गरी केन्द्रिय कार्यालयबाट परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष समेत रहनुभएका शाक्यको नेतृत्वमा नयाँ तदर्थ समिति बनाएको हो ।

संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा हाल १३ जना अनाथ, असाहय र समस्यामा परेका बालबालिकाले आश्रय पाएका छन् । धौलागिरी क्षेत्रका एक मात्र बालगृहमा बालबालिकाको चाप बढेपनि क्षमताले थेग्न नसकेको अवस्थामा बालगृहमा संरचना विस्तारका साथै विभिन्न संघसंस्था, ब्यक्तिमार्फत सहयोगबाट सञ्चालन भइरहेको थियो ।

नेपाल बाल संगठनमार्फत सञ्चालन भएपनि भवनको भाडा, चन्दा लगायत विभिन्न सहयोगबाट बाल गृह सञ्चालनमा रहेको छ । सभापतिमा चयन शाक्यले आफ्नो नियुक्तीका बारेमा जानकारी पाएको बताउनुभयो । ‘सभापतिमा नियुक्ती भएको जानकारी आएको छ,‘केन्द्रबाट थप जानकारी पाएको छैन’ शाक्यले भन्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष, लायन्स क्लव बेनी पिस सिटीका संस्थापक अध्यक्ष समेत रहनुभएका शाक्यले गरिब तथा विपन्नको उपचार लगायत विभिन्न क्षेत्रमा सहयोग गदैं आउनुभएको छ । हाल संगठनको सभापतिमा नेत्रबहादुर महत हुनुहुन्थ्यो ।

Leave a Reply