बजेट अभावकै कारण रोकिएको मंगला गाउँपालिका-४,बरंजा हुदै बागलुङको ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडकको निर्माण कार्यले तिब्रता पाएको छ ।

स्थानीयको पहलमा एक दशक अगाडी ट्याक खोल्ने कार्य सुरु भएपनि बजेट अभावले अलपत्र परेको अवस्थामा प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापामार्फत १५ लाख, वडा कार्यालयबाट ३ लाख र जनश्रमदान ४ लाखमा स्थानीयले सडक विस्तारलाई तिब्रता दिएका हुन् ।

दुई गाउँपालिका जोड्ने ट्याक खोल्न स्थानीयले करिब ४ लाखको श्रमदान समेत गरेको दह न्युखोला महेस धापुङ मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष उमेश विकले बताउनुभयो । ‘एकदशक देखि रोकिएको स्थानीयको सपना विस्तारै पुरा हुदैछ,‘सडक विस्तारले स्थानीयको जीवनस्तरमा समेत सुधार आउने छ’ अध्यक्ष विकले भन्नुभयो ।

सडकले बरंजाका करिब डेढ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । सांसद विकास कोषबाट बिनियोजित बजेटले अपुग भएमा आगामी बर्ष समेत थप गर्ने प्रतिबद्धता सांसद थापाबाट प्राप्त भएको समितिका सचिव होम बहादुर चोचाङ्गीको भनाई छ ।

सडकखण्ड अन्तरगत पर्ने विभिन्न गाउँहरुबाट उत्पादन हुने कृषि उपजलाई बजारीकरण सहित छिमेकी जिल्लामा जाने स्थानीयलाई समेत सहज हुने स्थानीयको भनाई छ । एकदशक अगाडी स्थानीयले चन्दा संकलन गरी करिब १० लाख बराबरको सडक विस्तार गरेका थिए । यसैबीच गण्डकी प्रदेशबाट धापुङ हुदै ताराखोलाको सिर्कु जोड्ने गरी चालु आवमै ५० लाख विनियोजन भएको मंगला गाउँपालिकाले जनाएको छ ।

Leave a Reply