चाडपर्वलाई ध्यान दिएर वर्षाले भत्काएका म्याग्दीका ग्रामीण सडकको मर्मत शुरु भएको छ । मनसुन सुरु भएयता बाढीपहिरोले सवारी आवागमन पूर्ण रुपमा रोकिएका सडकलाई प्राथमिकता दिदैं जिल्लाका ६ वटै स्थानीय तहले मर्मतको कार्य थालेका हुन् ।

विगतका बर्षको तुलनामा अत्यधिक बर्षा, बाढीपहिरोले तहसनहस बनाएको जोखिमपूर्ण सडकको स्तरोन्नतीलाई समेत मर्मतकै क्रममा प्राथमिकता दिइएको जनप्रतनिधिले बताएका छन् । दशैँलाई लक्षित गर्दै आवागमन सहज बनाउन बेनी नगरपालिकाले ५० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए ।

‘केहीदिनमा १० वटै वडाको सडक मर्मत हुन्छ,‘चाडपर्व लक्षित भएपनि बर्खाले अवरुद्ध भएका सबै सडक खुलाउँछौ’ सुबेदीले भने । त्यस्तै धवलागिरी गाउँपालिकाले विपद् ब्यवस्थापन कोषबाट ४८ लाख बजेटले मर्मत गरेको छ भने बिहिबारको कार्यपालिका बैठकबाट थप निर्णय गर्ने प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताए ।

सडक विभागको जिम्मामा रहेको बेनी–दरबाङ, बेनी–जोमसोम, बेनी–बागलुङ सडकखण्ड बाहेक जिल्लाभित्रका सबै सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गर्ने, भत्किएका ग्याविन जाली लगाउने र थप बजेट आवश्यकता परेको थप निर्णय समेत गरेर मर्मत गरिने जनप्रतिनिधिनको भनाई छ । यसबर्ष गतबर्षको तुलनामा बर्षाले धेरै नै क्षती पुगेको छ । जिल्लाका सबै स्थानीय तहले सडकमर्मतमा करिब ३ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । file photo

Leave a Reply