म्याग्दीको मंगला गाउँपालिकाले चाडपर्वमा जिल्ला बाहिरबाट आउनेलाई अनिवार्य १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

जिल्ला बाहिरबाट आएका सोझै परिवार समुदायमा घुलमिल हुदाँ कोरोना संक्रमण फैलिनसक्ने जोखिम भएकाले चाडपर्व लक्षित योजनालाई सहयोग गर्न गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अपिल गर्नुभएको छ । वडास्तरमा गठित टोलस्तरीय समितिमार्फत नियमित अनगुमन तथा समुदायबाट समेत निगरानी राख्नुपर्ने अध्यक्ष रोकाको भनाई छ ।

‘यसपटक घरमै बसेर चाडपर्वहरू मनाउनुहोस्,‘चाडपर्व फेरी आउँछ, कोरोनाको संक्रमण फैलिएमा सबैले दुख पाइन्छ’ रोकाले भन्नुभयो । छिमेकी जिल्लाबाट विगतमा जस्तै चाडपर्वमा भित्रिने नाकाहरुमा थप कडाई गर्न समेत सिमा क्षेत्रमा वडाका जनप्रतिनिधिलाई समेत निर्देशन दिइसकेको अध्यक्ष रोकाको भनाई छ ।

अत्यावश्यक काममा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र भौतिक दुरी कायम गर्ने आग्रह गर्नुभएको छ । पालिकाभित्रको बजार क्षेत्रमा किनमेल गर्दा भिडभाड समेत नगर्न अध्यक्ष रोकाले अनुरोध गर्नुभयो ।

मठमन्दिरमा धार्मिक र सांस्कृतिक महत्वका स्थानहरूमा हुने नित्यपूजा र आराधनाबाहेक समूहमा गरिने भजन, किर्तनलगायतका गतिविधि नगर्न र नगराउन आदेश समेत जारी गरिएको छ भने तिहार केन्द्रि थप योजनाहरु समेत गाउँपालिकाले ल्याउने जनाइएको छ । मंगलाले बेनी नगरपालिका, मालिका, रघुगंगा गाउँपालिकाका साथै छिमेकी बागलुङको काठेखोला, ताराखोला गाउँपालिकाबाट आवतजावत गर्नेलाई समेत थप कडाई गरेको छ ।

Leave a Reply