बेनी अस्पतालबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बेनी अस्पतालमा विगत चारदिन देखि भेन्टिलेटरमा उपचार गराइरहेकी छिमेकी जलजला गाउँपालिकाको बगरकी २१ बर्षिया सुत्केरीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी शनिबार पोखराको गण्डकी अस्पतालमा रिफर गरिएको हो ।
गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको विषेश पहलमा सुत्केरी उद्धार कार्यक्रममार्फत उद्धार गरिएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
‘जोखिमपूर्ण अवस्थामा बेनीमै उपचार भइरहेको थियो,‘थप जटिल समस्या आएपछि उपचारका लागि पोखरा पठाइएको हो’ अध्यक्ष कटुवालले भन्नुभयो । अस्पतालमा रहेको सिमित श्रोतसाधनबाट समेत जटिल अवस्थामा उपचार गरिएपनि तत्कालै हेलिकप्टर आएपछि सहज भएको बेनी अस्पतालले जनाएको छ ।
बेनी अस्पतालमा जटिल शल्यक्रिया सहितको उपचार भइरहेको छ । गर्भवती महिलाको उद्धारमा अस्पताल प्रमुख डा. अमृत अधिकारी, मेडिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटी सहितको टोली नै सहभागि रहेको थियो । राष्ट्रपति उद्धार कार्यक्रम मार्फत यसअगाडी पनि म्याग्दीका दुर्गम क्षेत्रबाट सुत्केरी, गर्भवती महिलाको उद्धार गरिएको थियो सामाजिक विकास मन्त्री पुनका स्वकिय सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।











