दम र फोक्सोको समस्याले ग्रसित म्याग्दीको मालिका गाउँपालिका-३ डाँडागाउँका एक बृद्धलाई गंगा जिसी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि काठमाण्डौको मनमोहन मेमोरियल हस्पिटलबाट फर्किएका दलराम पर्तेलको उपचारमा लाग्ने सम्पूर्ण खर्च गरेको हो ।

घरमै आवश्यक पर्ने अक्सिजनको सिलिन्डर, औषधी उपचारका लागि आवश्यक पर्ने आर्थिक सहयोग तथा ढुवानीका साथै नियमित औषधी खर्च गरिने अध्यक्ष नारायण जिसीले बताउनुभयो । ‘काठमाण्डौबाट फर्किनुभएको थियो,‘बेनीमै अलपत्र परेको खवर सुनेपछि फाउण्डेशनमार्फत सहयोग गरियो’ जिसीले भन्नुभयो । बिरामी पर्तेलको उपचारमा लाग्ने सम्पूर्ण खर्च फाउण्डेशनले जिम्मा लिने जनाइएको छ ।

काठमाण्डौबाट फर्किएपछि बेनी अस्पतालमा पुगेका बिरामीलाई फाउण्डेशनका उपाध्यक्ष एवम् बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले तत्काल ब्यवस्थापन गरी गाउँ पठाउनुभएको थियो । फाउण्डेशनमार्फत दुईवटा सिलिन्डरमा नियमित अक्सिजन सहित स्थानीय यूवाहरुलाई समेत रेखदेखमा सघाउन ब्यवस्थापन गरेको छ ।

फाउण्डेशनका अध्यक्ष जिसीले उपचारको क्रममा आर्थिक अभावले निधन भएकी बहिनीको सम्झनामा स्थापना गरेको संस्थामार्फत बाढीपहिरो पीडित, सुत्केरी, घाईतेको उपचारमा हेलिकप्टरको ब्यवस्था सहित विभिन्न राहत सहयोग गर्नुभएको छ । फाउण्डेशनमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक कार्यलाई प्राथमिकता दिएर अगाडी बढ्ने जनाएको छ ।

Leave a Reply