राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुनले सधै केन्द्रमार्फत उत्पादन गरेका उपकरण, सहयोगदाताको विवरण, आवश्यक परेका जानकारीहरु सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्छन्। नेपाली बैज्ञानिक पुन सामाजिक सञ्जालमा निकै सक्रिय छन्।सानो–साने जिज्ञासा र आवश्यकताका बारेमा समेत सहजै प्रतिक्रिया दिन्छन् ।

केन्द्रमा आवद्ध इन्जिनियर, कर्मचारीहरुका बारेमा मात्रै सञ्जालमा पोष्ट गर्ने गरेका पुनले आइतबार चिटिक्क कोट पाइन्टमा सजिएको तस्वीर फेसबुकबाटै सार्वजनिक गरे। ‘मैले नि यो वर्षको दसैंमा त नयाँ कपडा पायो बाई’ लेखेर उनले कोट पाइन्ट लगाएको फोटो राखेका छन्।

महावीरलाई उनका साथीभाइले राम्रो कपडा लगाएन भनेर कचकच गरेका रहेछन्।नयाँ कोट पाइन्ट लगाएर उनले साथीभाइलाई जवाफ दिएका हुन्। करिब ४५ वर्षपछि दशैंमा आफूले नयाँ कोट पाइन्ट लगाएको बताए। ‘मेरो जिन्दगीमा दोस्रो सुट हो,‘ जुत्ता चाही ६ बर्ष पुरानो हो’ पुनले फेसबुकमा लेखेका छन् । उनले यो दसैंमा पनि जुत्ता भने नयाँ लगाएका छैनन्।

नयाँ कोट पाइन्टमा छ वर्ष पुरानो जुत्ता लगाएका पुनले नयाँ कोट पाइन्टका बारेमा केही समयपछि जानकारी गराउने बाचा समेत गरेका छन् । ‘साथीहरूलाई अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्न अनुरोध गर्छु,‘दशैंमा नयाँ लुगा लगाउन पाइयो’ उनले भने ।

कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको वाचा पूरा गरेको समेत पुनको भनाई छ । महाविर पुनलाई बेनी अनलाइनले पहिलोपटक भेट्ने क्रममा उनले राम्रो लगाउने र मिठो खाने चाहना नभएको बताएका थिए । साविकको राम्चे गाविसको नाँगीमा पुगेको बेनीअनलाइनको टिमसँग सामुहिक तस्वीर खिच्ने क्रममा समेत पुनले सामान्य पोशाकमा देखिएका थिए । सामान्यदेखि ठूला कार्यक्रममा समेत साधारण पोशाकमै देखिने महावीरले सन् २००७ मा एसियाको नोबेल पुरस्कार जित्ने क्रममा कोट पाइन्ट लगाएर पहिलोपटक देखिएका थिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले कोट पाइन्ट लगाएको तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा छ।

हेनुहोस् उनकै शब्दमा
लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई
सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो  जुत्ता चाहिं ६ बर्ष पुरानो हो । धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें । दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला । केहि महिना पछि मैले नै बताउने छु । क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता । कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला

Leave a Reply